जितु र मुन्नीले सके एक साता अगावै ‘कार्की साइँला’को सुटिङ
काठमाडौं : एक महिनाको सेड्युलसहित छायांकनमा निस्किएको फिल्म ‘कार्की साइँला’ एक साता अगावै सकिएको छ। निर्माण टिमले धमाधम सुटिङ गरेर निर्माताको पैसा जोगाइदिएका छन्।
राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘कार्की साइँला’को २१ दिनमा फिल्मको छायांकन समाप्त भयो। फिल्ममा निर्माता र कलाकारबीच लफडा परेका कारण गत वैशाखमै थाल्ने भनिएको यो फिल्मले अन्ततः पूर्णता पायो। निर्देशक बस्नेतका अनुसार नेपालको पूर्वी क्षेत्र धनकुटा, सुनसरीको चतहरा, बराहक्षेत्र आसपासमा सुटिङ गरिएको छ। फिल्मका कलाकार र प्राविधिकहरूको अथाह मेहनतले समयभन्दा अगावै फिल्मको काम सकिएको उनको भनाई छ।
फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय छ।
‘कार्की साइँला’ सकेलगत्तै जितु नेपाल वसन्त निरौलाको फिल्म ‘पाँच पाण्डव’मा जोडिएका छन्। उनी सोमबार अर्थात् हिजोबाट नै यसको सुटिङका लागि झापाको बिर्तामोड पुगिसके।
फिल्ममा दर्शकले जितु नेपालको जोडीको रूपमा सक्किगोनीमा मुन्नी उपनामले चर्चामा आएकी प्रियना आचार्य रहेकी छन्। उनीहरूको यो पहिलो सहकार्य हो। यसअघि प्रियनाले ‘झरीपछिको इन्द्रेणी’मा काम गरेकी थिइन्। जुन फिल्म युट्युबमा रिलिज भइसकेको छ।
कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको यस फिल्ममा बालकुमार राई निर्माता छन्। कर्णबहादुर फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा महिला द्वन्द्व निर्देशकका रूपमा चर्चामा रहँदै आएकी किरण दाहालको द्वन्द्व निर्देशन छ। साथै फिल्मका गीतमा संगीत दिप्सन लिम्बुले दिएका छन्। डम्बर राईले खिचेको यो फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन।
चैत ३, २०८२ मंगलबार १५:३०:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।