इन्धन संकटको असर: श्रीलंकाले हरेक बुधबार सार्वजनिक बिदा दिने
एजेन्सी : श्रीलंकाले इन्धन बचत गर्न सरकारी कार्यालयहरूमा हरेक बुधबार बिदा दिने निर्णय गरेको छ। इरान, अमेरिका र इजरायलबीचको तनावका कारण उत्पन्न हुनसक्ने इन्धन अभावलाई मध्यनजर गर्दै श्रीलंकाले हरेक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
यो निर्णय सरकारी संस्थाहरूका साथै विद्यालय र विश्वविद्यालयहरूमा पनि लागू हुनेछ। स्वास्थ्य, अध्यागमन र सुरक्षा जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायहरू भने बिदाको दिनमा पनि यथावत सञ्चालन हुनेछन्।
सरकारी कार्यालयहरू लगातार तीन दिनसम्म बन्द नहोऊन् भन्ने उद्देश्यले शुक्रबारको सट्टा बुधबार बिदा दिइएको बिबिसीले उल्लेख गरेकाे छ।
यस्तै, बजारमा इन्धन भर्नका लागि लागेका लामा सवारी लाइनहरू र बढ्दो अभावलाई व्यवस्थापन गर्न सरकारले पुनः कोटा प्रणाली लागू गरेको छ। जसअनुसार निजी कारले हप्तामा १५ लिटर र मोटरसाइकले ५ लिटर मात्र इन्धन पाउनेछन्। यो कोटा प्रणाली सन् २०२२ को आर्थिक संकटका बेला पहिलोपटक लागू गरिएको थियो।
कतिपय सर्वसाधारणले यो कोटा दैनिक आवश्यकताका लागि अपर्याप्त भएको भन्दै असन्तुष्टि समेत पोखेका छन्।
संकटको गाम्भीर्यतालाई स्वीकार गर्दै राष्ट्रपति अनुरा कुमारा दिसानायकेले राम्रो अवस्थाको आशा गर्दै नराम्रो अवस्थाका लागि तयार हुनुपर्ने बताएका छन्।
मध्यपूर्वको तनावका कारण विश्वको सबैभन्दा महत्वपूर्ण इन्धन मार्ग मानिने स्ट्रेट अफ होर्मुज लगभग ठप्प जस्तै छ। खाडी मुलुकबाट हुने तेल निर्यातमा अवरोध आएसँगै विशेष गरी एसियाली बजारलाई प्रत्यक्ष मारमा पारेको छ।
इन्धन आपूर्तिमा समस्या देखिन थालेपछि श्रीलंका सहित विभिन्न देशहरूले खर्च कटौती र आपूर्ति व्यवस्थापनमा ध्यान दिन थालेका छन्।
एसियाली देशहरूका संरक्षणका उपायहरू
इन्धन संकटले सिर्जना गरेको आपत्कालीन स्थितिसँग जुध्न अन्य एसियाली मुलुकहरूले पनि आ-आफ्नै ढंगका मितव्ययिताका उपायहरू अवलम्बन गरेका छन्।
थाइल्याण्डले एयर कन्डिसनको खपत घटाउन सरकारी कर्मचारीहरूलाई सुटको सट्टा छोटो बाहुला भएको टिसर्ट लगाउन प्रोत्साहन गरिएको छ।
म्यान्मारले इन्धन बचतका लागि निजी सवारी साधनहरूलाई लाइसेन्स प्लेट नम्बरको आधारमा जोर-बिजोर प्रणाली झैं वैकल्पिक दिनमा मात्र चलाउने अनुमति दिइएको छ।
बंगलादेशले विश्वविद्यालयहरूमा रमजानको बिदा समय अगावै घोषणा गरिएको छ र ऊर्जा बचत गर्न देशभर योजनाबद्ध रूपमा विद्युत कटौती सुरु गरिएको छ।
फिलिपिन्सले सार्वजनिक क्षेत्रका कर्मचारीहरूलाई हप्ताको कम्तिमा एक दिन घरबाटै काम गर्न निर्देशन दिएको छ र अनावश्यक वैदेशिक भ्रमणमा रोक लगाइएको छ।
भियतनामले नागरिकहरूलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, साइकल चलाउन र सार्वजनिक यातायात चढ्न वा सामूहिक यात्रा गर्न आग्रह गरेको छ।
युद्धका कारण तेल आपूर्ति प्रभावित भएपछि एशियाली देशहरूले मितव्ययी उपायहरू अनपाइरहेका हुन्। स्ट्रेट अफ होर्मुज मार्ग हुँदै दैनिक लाखौँ ब्यारेल तेल एशियातर्फ आउने गरेको थियो।
गत वर्ष मात्र यस मार्ग हुँदै झण्डै ९० प्रतिशत तेल र ग्यास एशियाली देशतर्फ आएको थियो। यस अवरोधसँगै एशियामा ठूलो असर पर्ने देखिएको छ।
द्वन्द्वका कारण कच्चा तेलको मूल्य हाल प्रति ब्यारेल करिब १०० डलरको हाराहारीमा पुगेको छ, जसले आयातमा निर्भर देशहरूको सञ्चितिमा थप दबाब दिएको छ।
चैत ३, २०८२ मंगलबार १५:१६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।