करार नवीकरण गर्न १ लाख घुस लिने चौरजहारीका मेयर र उजुरीकर्ता सब-इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा दायर

करार नवीकरण गर्न १ लाख घुस लिने चौरजहारीका मेयर र उजुरीकर्ता सब-इन्जिनियर दुवैविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

करार सेवाको म्याद थप गरिदिएबापत १ लाख रुपैयाँ घुस लिने/दिने कार्यमा संलग्न भएको पुष्टि भएपछि अख्तियारले आइतबार दुवै जनाविरुद्ध आरोपपत्र दायर गरेको हो।

शाह विगत ८ वर्षदेखि चौरजहारी नगरपालिकामा करार सेवामा कार्यरत थिए।

आर्थिक वर्ष २०८१/०८२ को म्याद थप गर्ने क्रममा मेयर पुष्प वादीले १ लाख रुपैयाँ घुस मागेपछि शाहले उक्त रकम मेयरको बैंक खातामै जम्मा गरिदिएका थिए। रकम जम्मा गरेपछि मात्र उनको म्याद थपिएको थियो।

तर, जब आर्थिक वर्ष २०८२/०८३ को म्याद नवीकरण गर्ने बेला आयो, मेयर वादीले फेरि १ लाख रुपैयाँ घुस मागे। यसपटक शाहले आफूले रकम दिन नसक्ने बताए। घुस नदिएपछि मेयरले उनको करार म्याद नथपी पदबाट बर्खास्त गरिदिए।

आफूलाई बर्खास्त गरिएपछि आक्रोशित बनेका शाहले अघिल्लो वर्ष मेयरको खातामा जम्मा गरिदिएको १ लाख रुपैयाँको बैंक भौचरसहित अख्तियारमा उजुरी दिएका थिए।

तर, अनुसन्धानका क्रममा शाहले आफ्नो काम गराउन मेयरलाई घुस दिएको प्रमाणित भयो। नेपालको कानुनअनुसार घुस लिने र दिने दुवै भ्रष्टाचारी ठहरिने भएकाले अख्तियारले उजुरीकर्ता शाहलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नगर प्रमुख पुष्प वादीले आफ्नो पदीय दायित्वविपरीत करार म्याद थप्ने निर्णय गरिदिएबापत १ लाख रुपैयाँ घुस लिएको स्थापित भएको छ।

आयोगले मेयर वादीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद, बिगो बमोजिम जरिवाना र घुस रकम जफत गर्न मागदाबी गरेको छ।

साथै, उनी सार्वजनिक पद धारण गरेका (नगर प्रमुख) व्यक्ति भएकाले ऐनको दफा २४ बमोजिम थप सजायसमेत माग गरिएको छ।

त्यसैगरी, आफ्नो सेवा करारलाई निरन्तरता दिने उद्देश्यले २०८० साउन ८ गते मेयरको खातामा १ लाख रुपैयाँ जम्मा गरिदिने असिस्टेन्ट सब-इन्जिनियर मोहन शाहलाई पनि भ्रष्टाचार निवारण ऐनअनुसार प्रतिवादी बनाइएको छ।

आयोगले शाहविरुद्ध पनि १ लाख रुपैयाँ नै बिगो कायम गरी कानुनबमोजिम कैद, बिगो बराबरको जरिवाना र घुस दिएको रकम जफत हुने मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

चैत ३, २०८२ मंगलबार १४:२१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।