अबुधाबीमा मिसाइलको भग्नावशेष खस्दा एक पाकिस्तानी नागरिकको मृत्यु
एजेन्सी : संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीस्थित बानियास क्षेत्रमा ब्यालेस्टिक मिसाइलको भग्नावशेष खस्दा एक जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।
अधिकारीहरूका अनुसार युएईको एयर डिफेन्स सिस्टमले आकाशमै मिसाइललाई नष्ट गरे पनि त्यसका टुक्राहरू भुइँमा खस्दा पाकिस्तानी नागरिकको मृत्यु भएको हो।
घटनालगत्तै आपत्कालीन उद्धार टोलीहरू सो क्षेत्रमा पुगेका थिए र सुरक्षाकर्मीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिई सुरक्षित बनाएका छन्।
यस पछिल्लो घटनासँगै इरानी आक्रमण सुरू भएयता युएईमा ज्यान गुमाउनेको कुल संख्या ८ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।
ज्यान गुमाउनेमा दुई जना सैनिक र ६ जना सर्वसाधारण रहेका छन्। मृत्यु हुने सर्वसाधारणहरू नेपाल, पाकिस्तान, बंगलादेश र प्यालेस्टाइनका नागरिक रहेको युएईका अधिकारीहरूले जनाएका छन्।
आक्रमण सुरु भएयता युएईको हवाई रक्षा प्रणालीले ३०४ वटा ब्यालेस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र १ हजार ६२७ वटा मानववरहित ड्रोनलाई आकाशमै नष्ट गरिसकेको छ।
यसैबीच, युएईको रक्षा मन्त्रालयले राज्यको सुरक्षा, सार्वभौमसत्ता, स्थिरता र राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि प्रयासको दृढतापूर्वक सामना गर्न सेना पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।
अधिकारीहरूले सर्वसाधारण नागरिकलाई आधिकारिक स्रोतबाट आएका सूचनामा मात्र विश्वास गर्न, अफवाह तथा अप्रमाणित खबरहरू नफैलाउन र जारी गरिएका आधिकारिक निर्देशनहरूको पालना गर्दै सतर्क रहन आग्रह गरेका छन्।
चैत ३, २०८२ मंगलबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।