अडिसन दिएर ‘लालीबजार’मा छानिएकी स्वस्तिमाको अभिनयले ‘बुलबुल’ बिर्साउँला?

अडिसन दिएर ‘लालीबजार’मा छानिएकी स्वस्तिमाको अभिनयले ‘बुलबुल’ बिर्साउँला?

काठमाडौं : फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री स्वस्तिमा खड्का ले एक दशकको करियरमा आफूलाई स्थापित कलाकारका रूपमा उभ्याएकी छन्। 

‘लभ लभ लभ’, ‘छक्का पञ्जा २’, ‘नाइ नभन्नु ल ५’, ‘बुलबुल’, ‘दिमाग खराब’देखि उनले निर्माण गरेको ‘बेहुली फ्रम मेघौली’सम्म आइपुग्दा उनको अभिनय निखारिदै गएको देखिन्छ।

विशेषगरी ‘बुलबुल’मा गरेको अभिनयले उनलाई फरक उचाइमा पुर्यायो। उनले गीत–नृत्यमार्फत पनि लोकप्रियता कमाइन्।। यद्यपि अभिनयमा कहिले आलोचना त कहिले प्रशंसा पाउँदै आएकी उनले ‘दिमाग खराब’मा गाउँले पात्रमार्फत दर्शकको मन जितिन्। दर्शकले उनको बोल्ने शैलीप्रति केही टिप्पणी गरे पनि गाउँले पात्रमा उनको प्रस्तुति मन पराए।

यसैबीच, आफ्नो करियरमा पहिलोपटक स्वस्तिमा खड्काले फिल्म ‘लालीबजार’का लागि अडिसन दिएर छानिइन्। प्रतिस्पर्धात्मक अडिसन प्रक्रियाबाट छनोट हुँदै उनी यो प्रोजेक्टमा जोडिएकी हुन्। फिल्ममा निर्माता समेत रहेका रविन्द्रसिंह बानियाँ पनि अडिसनमार्फत नै छानिए।

यस फिल्मका लेखक तथा निर्देशक यम थापाले यसअघि पनि थुप्रै फिल्ममा कथा तथा पटकथा लेखिसकेका छन्। उनी यस वर्षको सफल फिल्म ‘परान’का पटकथा लेखक समेत हुन्। 

हालै ‘लालीबजार’को गीत सार्वजनिक कार्यक्रममा बोल्दै स्वस्तिमा खड्का ले पहिलोपटक अडिसन दिएर छनोट हुन पाउँदा आफूलाई विशेष अनुभव भएको बताइन्। उनका अनुसार फिल्मको विषयवस्तु र टिम दुवै उत्कृष्ट भएकाले यो प्रोजेक्ट आफ्ना लागि खास बनेको छ।

उनले भनिन्, "मैले पहिलो पटक अडिसन दिएर सेलेक्ट भएको फिल्म हो। फिल्मको विषयवस्तु र टिम उत्कृष्ट भएकाले पनि यो मेरा लागि विशेष छ।"

फिल्मका पोस्टर, टिजर र गीतले तराई क्षेत्रको जीवनशैली र कुनै समुदायको कथा झल्काउने संकेत दिएका छन्। यद्यपि यसको वास्तविक कथावस्तु भने वैशाख १८ पछि मात्रै खुल्नेछ।

पछिल्लो समय स्वस्तिमा खड्काले आफूलाई ग्ल्यामरस भूमिकाबाट बाहिर निकाल्दै गम्भीर र चुनौतीपूर्ण पात्रमा ढाल्ने प्रयास गरिरहेकी छन्। हरेक फिल्ममा फरक क्यारेक्टरमा आफूलाई ढाल्दै आएकी स्वस्तिमा खड्काको यो पटकको फरक भूमिकाले कस्तो प्रतिक्रिया पाउने हो भन्ने कुरामा अहिले दर्शकको चासो बढेको छ। 

अब भने मुख्य प्रश्न यही छ- के ‘लालीबजार’मा उनको अभिनयले ‘बुलबुल’को छापलाई बिर्साउन सक्ला? यसको लागि भने केही समय पर्खनै पर्नेछ।

चैत ३, २०८२ मंगलबार १३:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।