स्वास्थ्य बीमाको दुरुपयोग रोक्न बोर्ड र पञ्जीकरण विभागबीच सम्झौता
काठमाडौं : राष्ट्रिय परिचयपत्रमा हुने विवरण र नम्बरलाई स्वास्थ्य बीमाको प्रणालीमा राख्ने गरी स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले सोमबार उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
स्वास्थ्य बीमा सेवामा भइरहेको दुरुपयोगलाई रोक्न यस्तो सम्झौता गरिएको बोर्डका कार्यकारी निर्देशक डा. पौडेलले बताए। "स्वास्थ्य बीमा कार्डको दुरुपयोग रोक्न यो प्रभावकारी हुने विश्वास छ," उनले भने।
सहमति कार्यान्वयनमा आएपछि एउटै व्यक्तिले फरक फरक स्वास्थ्य बीमा कार्ड बनाएर एकभन्दा धेरै ठाउँबाट स्वास्थ्य बीमा सेवा लिने, एउटा व्यक्तिको कार्ड अर्को व्यक्तिले प्रयोग गर्ने जोखिम र निःशुल्क बीमित हुने जेष्ठ नागरिकको पनि विवरण अद्यावधिकमा देखिएको समस्या हल गर्न सहज हुने डा. पौडेल बताउँछन्।
यसअघि पनि यस्तो सम्झौता भएको थियो। तर कार्यान्वयनमा आउन सकेन। "पहिला पनि ६ महिनालाई सुरु भएको रहेछ," डा. पौडेलले भने, "तर त्यो काम भएन। अहिले बीमा प्रणाली र एनआईडी जोडिएको छैन।"
स्वास्थ्य बीमा कार्डको छुट्टै नम्बर नदिई राष्ट्रिय परिचय पत्रमा भएको नम्बरले नै हुनेगरी स्वास्थ्य बीमालाई जोडिने पौडेलले बताए। सम्झौता कार्यान्वयनमा आएको खण्डमा स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’मा भएको विद्युतीय प्रणाली प्रयोग गर्नेछ। जसले स्वास्थ्य बीमामा भएको दुरुपयोग रोकिने विश्वास छ।
चैत २, २०८२ सोमबार १८:३८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।