पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै तत्काल सवारी साधनको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

नेपाल आयल निगमले गएरातिदेखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेपछि महासङ्घले यस्तो माग राखेको हो।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गर्दै एकाएक गरिएको भारी मूल्यवृद्धिले यातायात व्यवसायी र आम उपभोक्ता प्रत्यक्ष मारमा परेको उल्लेख गरेका छन्।

महासङ्घले नेपाल आयल निगमभित्रको आन्तरिक चुहावट र पेट्रोलियम पदार्थको खपतलाई नियन्त्रण गरी वैज्ञानिक विधि अपनाई पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग गरेको छ।

सार्वजनिक यातायात सञ्चालनमा सवारीसाधनहरू डिजेल/पेट्रोलको इन्धन प्रयोग गरी सञ्चालन हुने हुँदा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा प्रत्यक्ष असर सार्वजनिक सवारीसाधन सञ्चालनमा देखिएको महासङ्घले जनाएको छ।

सार्वजनिक यातायात पूर्णतः इन्धनमा निर्भर रहने भएकाले वैज्ञानिक विधि अपनाई स्वचालित प्रणालीमार्फत तत्काल भाडा समायोजन गर्न महासङ्घले जोड दिएको छ।

महासङ्घले सङ्घीय रुटको भाडा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतको भाडा सातवटै प्रदेश मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्नसमेत सरकारसँग माग गरेको छ।

चैत २, २०८२ सोमबार १८:१५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।