गीतमा सुहानाको तारिफले बढाएको उत्साह, ‘परालको आगो’ले हलमा कस्तो गर्ला ?
काठमाडौं : अभिनेत्रीबाट निर्देशनमा हात हालेकी झरना थापाले आफ्नो डेब्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर ३’ मार्फत छोरी सुहाना थापालाई अभिनयमा भित्र्याइन्। उक्त फिल्ममा सुहानाको जोडीका रूपमा अनमोल केसीलाई प्रस्तुत गरिएको थियो।
सुहाना र अनमोलको जोडीलाई दर्शकले निकै मन पराए। पहिलो फिल्मबाटै सुहानाले चर्चा र अभिनयको हिसाबले अनमोललाई समेत छायामा पारिन्। फिल्म व्यावसायिक रूपमा सफल पनि भयो। पहिलो फिल्मबाट कमाई र चर्चा राम्रै बटुलेपछि झरनाले ‘ए मेरो हजुर ४’ निर्माण गरिन्। तर, घरेलु ब्यानरमा निर्माण भएको यस फिल्मले अपेक्षा अनुसारको व्यापार गर्न सकेन।
यद्यपि निर्माण टोलीले फिल्म सफल भएको दाबी गर्दै विभिन्न उत्सवहरू भने मनाइरह्यो। दरबारमार्गको एक क्याफेमा आफू निकट साथीभाइ तथा पत्रकारलाई साँची राखेर केकसमेत काटियो।
पहिलो र दोस्रो फिल्मको व्यावसायिक सफलता पछि झरनाले अमेरिकामा पढ्दै गरेकी छोरी सुहानालाई लिएर कृष्णको नाममा फिल्म बनाउने अठोट गर्न थालिन्। कृष्णको भक्त भएकाले उनलाई यसको नामसँग फिल्म बनाउने कुरा चल्यो। तर त्यो बनेन।
बरु विपिन कार्कीलाई हिरोमा लिएर ‘एक भागवत एक गीता’फिल्म निर्माण गरे। फिल्म पनि ठिकठाकै थियो। तर हलमा चलेन। चल्नुभन्दा अघि केही धार्मिक संगठनले फिल्मलाई लिएर असन्तुष्टि जनाएपछि त्यसको असर व्यापारमा देखियो। निर्माण टिम डुब्यो। यो फिल्मपछि झरना थापा राम्ररी व्यावसायिक रूपमा उठ्न सकेकी छैनन्।
घरकै ब्यानरमा काम गरिरहेकी सुहाना अब बाहिरको ब्यानरमा समेत काम गर्न थालेकी छन्। उनी आफ्नो अभिनयको जादु घरेलु ब्यानरमा मात्रै सीमित नराखेर बाहिरका ब्यानरमा पनि बलियो उपस्थिति जनाउने मुडमा छन्। चार दशक अघि निर्माण भएको फिल्म ‘परालको आगो’ पुन निर्माण भएको छ। जसमा उनी गौँथलीको भूमिकामा छन्।
शहरिया र अमेरिका जस्तो विकसित देशमा हुर्किएकी सुहानाले यसमा ग्रामीण भेगको कथामा छन्। हालै सार्वजनिक भएको पोस्टरमा उनको चर्चा थियो नै, आज रिलिज भएको गीत ‘उडी जाऊँ भने, म पंक्षी होइन’मा समेत दर्शकले रुचाएका छन्। जहाँ प्रकाश सपुत र बालकलाकार मञ्जिला बानियाँले पनि अभिनय गरेका छन्। छिटपुट प्रकाश सपुतको नाम लिएका छन्। तर अधिकांश कमेन्टकर्ताले सुहानाको तारिफ गरेका छन्।
कतिपयले त सुहानामा झरना थापाकै अभिनय झल्किएको कमेन्ट बर्साएका छन्। चार दशक अघि नै अरुणा लामाले गाएको यो गीत नयाँ होइन। त्यो समयमा अधिकांश रेडियोमा गुञ्जने गीत हो। जुन गीतलाई नयाँ स्वर निशु शर्माले गाएकी छन्। नेपाली गीत संगीतको पहिलो कम्पोजर तथा एरेन्जर शान्ती ठटालको संगीतमा रहेको यस गीतको शब्द मन बहादुर मुखियाकै छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापाले कतिको मौलिकता र कथा अनुसारकै पात्र गौँथली बनेकी छन्। त्यो भने आगामी वैशाख ११गतेपछि नै थाहा होला। तर उनको फिल्मको पोस्टर र गीतमा जुन लुक्समा निर्माण टिमले खर्च गरेको छ। त्यसको भने प्रशंसा भइरहेको छ।
यसमा उनका अलावा सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनयले कतिको दर्शकलाई लोभ्याउँछ। त्यो पछिको कुरा हो। तर यस फिल्ममा लगानी गरेर सुशील पोखरेलले जोखिम भने मोलेकै छन्। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने निर्देशनको पाटो लक्ष्मण सुनारको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशनमा निर्माण भएको थियो। सुहानालाई फिल्मको पोस्टर, गीत रिलिजमा जस्तो दर्शकको साथ हलमा पनि हुन्छ कि हुन्न ? त्यसका लागि ३९ दिन पर्खिनुपर्ने हुन्छ।
चैत २, २०८२ सोमबार १७:३१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।