सहयोगी देशहरूसँग ट्रम्प आक्रोशित, भने- "संकटमा साथ नदिनेहरूको व्यवहार याद राख्नेछौं"
एजेन्सी : इरानसँग बढ्दो तनावका बीच सामरिक महत्त्वको 'होर्मुज स्ट्रेट'को सुरक्षालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय समुदायको भूमिकाप्रति प्रश्न उठाएका छन्। उक्त क्षेत्रमा युद्धपोत पठाउन गरेको आह्वानमा युरोपेली र अन्य सहयोगी राष्ट्रहरूबाट ठोस प्रतिक्रिया नआएपछि उनी असन्तुष्ट बनेका छन्।
ट्रम्पले सहयोगी राष्ट्रहरूको निष्क्रियताले 'नेटो'को भविष्यको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने चेतावनी दिए। उनले होर्मुज स्ट्रेटको सुरक्षामा बेइजिङको सहयोग रहने अपेक्षा गरे। उनले चीनको ९० प्रतिशत तेल आयात यही मार्गबाट हुने तथ्य औँल्याउँदै चिनियाँ राष्ट्रपतिसँग यसै महिना हुने प्रस्तावित भेटवार्तामा यसबारे छलफल हुने बताए।
ट्रम्पका अनुसार खाडी क्षेत्रबाट हुने तेल आपूर्तिमा युरोप र चीन ठूलो मात्रामा निर्भर छन्, त्यसैले यस मार्गको सुरक्षामा उनीहरूको पनि दायित्व रहन्छ। उनले थपे, "कुन देशले यस कार्यमा अमेरिकालाई सहयोग गर्छ भन्ने कुरा विशेष चासोको विषय हुनेछ।"
उनले नेटो आबद्ध राष्ट्रहरूले आफ्नो सुरक्षाको जिम्मेवारी आफैँ लिनुपर्ने धारणा राखे। केही दिनअघि 'ट्रुथ सोसल'मार्फत ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायत जस्ता देशहरूलाई होर्मुज स्ट्रेटमा आफ्ना जहाज पठाउन आग्रह गरेका थिए।
राष्ट्रपति ट्रम्पले युक्रेन संकटमा अमेरिकाले पुर्याएको ठूलो सहयोगको स्मरण गराउँदै सहयोगी राष्ट्रहरूबाट पारस्परिकताको अपेक्षा गरे। "युक्रेन हामीबाट भौगोलिक रूपमा टाढा भए पनि हामीले उनीहरूलाई सहयोग गर्यौं," ट्रम्पले भने, "अहिले हामीलाई आवश्यक पर्दा सहयोगी राष्ट्रहरू कत्तिको साथ दिन्छन्, त्यो हेर्न बाँकी छ।"
ट्रम्पले सुरुवाती चरणमा बेलायतले युद्धपोत पठाउन हिचकिचाहट देखाएको दाबी गरे। पछि बेलायतले जहाज पठाउने प्रस्ताव गरे पनि हालको परिस्थितिमा त्यसको आवश्यकता नरहेकोले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए।
राष्ट्रपति ट्रम्पले संकटको समयमा कुन राष्ट्रले कस्तो भूमिका निर्वाह गर्यो भन्ने कुरालाई मूल्यांकनको विषय बन्ने बताए। उनले भने, "मलाई उनीहरूको आवश्यकता तब थियो जब हामी युद्ध सुरु गर्दै थियौं। त्यसैले हामीलाई समर्थन मिलोस् वा नमिलोस्, म यति भन्न सक्छु र मैले उनीहरूलाई पनि भनेको छु- हामी 'याद राख्नेछौं'।"
चैत २, २०८२ सोमबार १५:५९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।