मारिएको हल्ला फैलिएपछि नेतन्याहू कफी पिउँदै गरेको भिडियो सार्वजनिक

मारिएको हल्ला फैलिएपछि नेतन्याहू कफी पिउँदै गरेको भिडियो सार्वजनिक

एजेन्सी : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू इरानको हमलामा मारिएको हल्ला फैलिएपछि उनको सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ। 

भिडियोमा उनी कफी पिउँदै गरेको देखिन्छन्। आफू जीवित र स्वस्थ रहेको संकेत गर्दै उनले ठट्टाको शैलीमा भनेका छन्, "म मरेको छु... कफीका लागि।" क्यामेरातर्फ हात देखाउँदै उनले औँला गन्न आग्रह गरेको भिडियोमा देखिन्छ। 

यसअघि सार्वजनिक एक भिडियोमा नेतन्याहूको हातमा ६ वटा औँला रहेको दाबी गरिएको थियो। उक्त भिडियोलाई एआई निर्मित वा 'डीपफेक' भएको भनी दाबी पनि गरिएको थियो। सोही आधारमा उनको मृत्यु भइसकेको हल्ला पनि फैलाइएको थियो।

उक्त हल्ला चिर्न नेतन्याहूको सामाजिक सञ्जालमा अर्को भिडियो राखिएको छ। उनले भनेका छन्, "के तपाईं मेरो औँलाहरू गन्न चाहनुहुन्छ? यहाँ हेर्नुहोस्, सबै सामान्य छ।"

भिडियोमा उनले आफ्ना जनताको धैर्यताको प्रशंसा गर्दै आफू देश र जनताका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन्। पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका बीच यस्ता अपुष्ट दाबीहरू सामाजिक सञ्जालमा फैलिरहेका छन्। 

चैत २, २०८२ सोमबार १५:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।