जापान र अस्ट्रेलियाले होर्मुज स्ट्रेटमा युद्धपोत नपठाउने
एजेन्सी : अमेरिका-इजरायल र इरानबीच १७औं दिनको युद्ध चलिरहँदा जापान र अस्ट्रेलियाले ‘होर्मुज स्ट्रेट’मा आफ्ना युद्धपोतहरू पठाउन अस्वीकार गरेका छन्।
जापानकी प्रधानमन्त्री सना ताकाइचीले संसदमा बोल्दै होर्मुज स्ट्रेटबाट हुने तेल ढुवानीको सुरक्षाका लागि हाललाई नौसेना पठाउने कुनै योजना नभएको स्पष्ट पारिन्।
जापानले आफ्नो ९० प्रतिशत कच्चा तेल र ११ प्रतिशत एलएनजी यही मार्गबाट ल्याउने गर्छ।
त्यसैगरी, अस्ट्रेलियाले पनि होर्मुजमा युद्धपोत नपठाउने घोषणा गरेको छ। अस्ट्रेलियाले आफ्नो ४० देखि ६० प्रतिशत कच्चा तेल यही बाटो भएर आयात गर्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेट प्रयोग गर्ने देशहरूले यसको सुरक्षाका लागि युद्धपोत र आवश्यक सहयोग पठाउनुपर्ने माग गरेका थिए।
उनले नेटो सहयोगी राष्ट्रहरूलाई चेतावनी दिँदै यो मार्ग खुला राख्न मद्दत नगरे ‘नेटोको भविष्य धेरै नराम्रो हुन सक्छ।’ विश्वको २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुन्छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले इजरायलका सैन्य र रक्षा केन्द्रहरूलाई निशाना बनाउँदै ‘सेजिल ब्यालेस्टिक मिसाइल’ प्रहार गरेको जनाएको छ।
यो २००० देखि २५०० किलोमिटर टाढासम्म मार हान्न सक्ने शक्तिशाली मिसाइल हो। विज्ञहरूका अनुसार यो मिसाइलको पहुँच भारत, चीन, रुस र युक्रेनसम्म हुन सक्छ।
चैत २, २०८२ सोमबार १३:३९:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।