छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

छ वर्ष कैद र २२ करोड जरिवाना तोकिएका योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ

काठमाडौं : बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई आइतबार काठमाडौंको सितापाइलाबाट नियन्त्रणमा लिएको हो।

६९ वर्षीय श्रेष्ठमाथि नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडमा रहँदा निक्षेपकर्ता र संस्थाको हितविपरीत अनियमित र गैरकानुनी कार्य गरी बैंकिङ कसुर गरेको आरोप थियो। नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भई मुद्दा चलाइएको थियो।

सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले श्रेष्ठलाई दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गर्दै भारी जरिवाना र कैद सजाय सुनाएको थियो।

पहिलो मुद्दामा उनीमाथि १९ करोड ४६ लाख १ हजार ६६२ रुपैयाँ ३९ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा ३ करोड २१ लाख ३९ हजार ६८१ रुपैयाँ ५१ पैसा जरिवाना र ३ वर्ष कैद सजाय तोकिएको थियो।

फैसलाअनुसार श्रेष्ठले २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ ९० पैसा जरिवाना तिर्नुपर्नेछ भने छ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ।

फरार रहेका श्रेष्ठलाई सितापाइलामा लुकिछिपी बसिरहेको अवस्थामा सीआईबीले फेला पारेको हो। पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।

चैत २, २०८२ सोमबार ११:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।