संसदीय राजनीतिबाट सन्यास लिने डा. सीके राउतको घोषणा, पार्टी नेतृत्वमा भने रहने
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा एक लामो पोस्ट गर्दै उनले संसदीय राजनीतिबाट सन्यासको घोषणा गरे पनि राजनीतिबाट भने टाढा नहुने बताएका छन्।
उनले लेखेका छन्, "म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।"
डा. राउतले आफू दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचनमा सहभागी भएको बताएका छन्। २०७९ को निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन र कार्यकर्ताको मनोबल उच्च राख्न दबाबमा आएर चुनाव लडेको उनले उल्लेख गरेका छन्।
"मलाई सांसद र मन्त्री बन्नु थिएन, तर नलडेको भए जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने थिएन," उनले लेखेका छन्।
त्यस्तै, हालै सम्पन्न निर्वाचनमा पनि आफू सहभागी नहुने अडानमा रहे पनि अन्तिम क्षणमा पार्टी र उम्मेदवारहरूको मनोबल गिर्न नदिन उम्मेदवारी दिएको उनको भनाइ छ।
उनले जनमत पार्टीलाई आगामी स्थानीय र प्रदेश निर्वाचनको तयारीमा जुटाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहने समेत बताएका छन्।
अधिकार र पहिचानको लडाइँमा आफू सदैव मोर्चामा रहने प्रतिबद्धता जनाउँदै उनले दुष्यंत कुमारको चर्चित कविताको पंक्ति 'हो कहीं भी आग, लेकिन आग जलनी चाहिए' मार्फत आफ्नो राजनीतिक यात्रा नरोकिने संकेत गरेका छन्।
चैत २, २०८२ सोमबार ११:१३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।