कोटेश्वरमा डेरावाल विद्यार्थीद्वारा घरबेटीमाथि बलात्कार प्रयासको मुद्दा, ६८ वर्षीय वृद्धको दाबी- डेरामा केटा नल्याउ भन्दा मुद्दा हालिन्

कोटेश्वरमा डेरावाल विद्यार्थीद्वारा घरबेटीमाथि बलात्कार प्रयासको मुद्दा, ६८ वर्षीय वृद्धको दाबी- डेरामा केटा नल्याउ भन्दा मुद्दा हालिन्
तस्बिर- एआईबाट बनाइएको

काठमाडौं : काठमाडौंको कोटेश्वरमा अध्ययनका लागि डेरा गरी बस्ने एक युवतीमाथि ६८ वर्षीय घरबेटीले बलात्कार प्रयास गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

सरकारी वकील कार्यालयले कोटेश्वरमा स्थायी बसोबास गर्ने रघुनाथ खड्काविरुद्ध ‘जबरजस्ती करणी उद्योग’को अभियोगमा मुद्दा दर्ता गरेको हो।

काठमाडौं जिल्ला अदालतमा दायर अभियोगपत्रमा पीडित युवतीले आफूमाथि भएको दुर्व्यवहारको नालीबेली बताएकी छन् भने आरोपी घरबेटीले आफ्नो प्रतिरक्षामा दिएको घटना भएको दिन आफू उनीसँग नै नभएको बयान दिएका छन्।

‘कपडा सुकाउन जाँदा बाटो छेके’
पीडित युवती विगत डेढ वर्षदेखि रघुनाथ खड्काको घरको दोस्रो तलामा भाडामा बस्दै आएकी थिइन्। अभियोगपत्रमा उल्लेख भएअनुसार, घटना २०८२ फागुन १४ गते दिउँसो करिब ४ बजेको हो।

युवतीले बयानमा भनेकी छन्, ‘मैले लुगा धोएर कौशीमा सुकाएकी थिएँ। पानी परेपछि लुगा लिन जाँदा घरधनीले तेस्रो तलाको बरण्डामा सुकाउन भन्नुभयो। मैले लुगा सुकाएर आफ्नो कोठातिर ओर्लँदै गर्दा रघुनाथ खड्काले मेरो बाटो छेक्नुभयो।’

उनले अगाडि भनेकी छन्, ‘एक्कासी उहाँले मेरो संवेदनशील अङ्गमा समात्नुभयो, गालामा किस खानुभयो र बलात्कार गर्न खोज्नुभयो। म चिच्याएर कराएपछि उहाँले छाडिदिनुभयो र म त्यहाँबाट भागेर ज्यान बचाएँ।’

पीडितका अनुसार यो घटनाअघि पनि माघ १२ गते न्यूरोडस्थित एक लाउन्जमा बोलाएर खड्काले आफूलाई मदिरा खुवाउने र संवेदनशील अङ्गमा छुने प्रयास गरेका थिए।

‘म त्यो दिन आफन्तको विवाहमा थिएँ’
६८ वर्षीय आरोपी रघुनाथ खड्काले भने प्रहरी र अदालतसमक्ष आफू निर्दोष रहेको दाबी गरेका छन्।

उनले आफूलाई मुटुको गम्भीर रोग लागेको र श्रीमतीको मृत्यु भइसकेको तथा छोरा-बुहारी अष्ट्रेलियामा रहेकाले एक्लै बस्दै आएको बताएका छन्।

‘मेरो कोठामा ८ वटा कोठा भाडामा छन्। ती युवती डेढ वर्षदेखि बस्दै आएकी थिइन्। उनी बेलाबेलामा कोठामा केटाहरू ल्याउने गर्थिन् । मैले केटाहरू नल्याऊ भन्दा उनी मसँग रिसाएकी थिइन्,’ उनले बयानमा भनेका छन्, ‘फागुन १२ गते पनि यस्तै विषयमा विवाद हुँदा उनले 'मलाई केही गरेर देखाइदिन्छु' भनेकी थिइन्।’

खड्काले घटना भएको भनिएको दिन फागुन १४ गते आफू बिहानैदेखि जेठी सासुको नातिनीको विवाहमा गएको र राति ११ बजे मात्र फर्केको दाबी गरेका छन्। उनले ‘मुटुको अप्रेसन गरेको र सुगर-प्रेसरको बिरामी भएकाले’ आफूले यस्तो हर्कत गर्न नसक्ने जिकिर गरेका छन्।

प्रत्यक्षदर्शी र साक्षीहरूको बयान- ‘युवती रुँदै कोठाभित्र लुकेकी थिइन्’
मुद्दामा बुझिएका अन्य साक्षीहरूको बयानले भने पीडित युवतीको दाबीलाई समर्थन गरेको देखिन्छ।

युवतीका बुबा र आमाले घटनाको दिन छोरीले रुँदै फोन गरेर ‘मलाई घरबेटीले यस्तो गरे, म कोठाभित्र चुकुल लगाएर बसेकी छु’ भनेको बताएका छन्।

युवतीका साथी राम बहादुर पाण्डेले बयानमा भनेका छन्, ‘मलाई उनको बुबाले गाउँबाट फोन गरेपछि म तत्काल कोटेश्वरस्थित उनको डेरामा पुगेँ। उनी कोठाभित्र रोइरहेकी थिइन्, उनी धेरै डराएकी थिइन्। मैले ढोका खोल्न लगाएर सोध्दा उनले घरबेटीले प्यासेजमा समातेर करणीको प्रयास गरेको सुनाइन्।’

अर्का साक्षी पुष्प बहादुर बुढाथोकीले पनि युवतीको बुबाको आग्रहमा आफू त्यहाँ पुग्दा युवती विक्षिप्त अवस्थामा रहेको र घरबेटीले ‘गल्ती भयो, खुट्टा समातेर माफी माग्छु’ भन्दै प्रहरीमा नजान अनुनय गरेको सुनेको बयान दिएका छन्।

कानुनी मागदाबी र सजायको व्यवस्था
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले खड्काविरुद्ध ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम बलात्कार प्रयास गरेको कसुरमा मुद्दा चलाएको छ।

बलात्कार प्रयास गरेकाले सो कसुरमा खड्कालाई ५ वर्षसम्म कैद सजायको साथमा पीडितलाई पुगेको मानसिक र शारीरिक क्षतिको विचार गरी अभियुक्तबाट उचित क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ।

आरोपी ६८ वर्षको जेष्ठ नागरिक भएकाले कानुनबमोजिम केही सहुलियत हुनसक्ने भए पनि कसुर पुष्टि भएमा उनी जेल जानुपर्ने हुन्छ।

चैत २, २०८२ सोमबार ११:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।