बस्तीबीचको ‘टाइम बम’ भलबारी डिपो ४६ वर्षपछि सर्दै, रोहिणी किनारमा बन्दैछ अत्याधुनिक संरचना

बस्तीबीचको ‘टाइम बम’ भलबारी डिपो ४६ वर्षपछि सर्दै, रोहिणी किनारमा बन्दैछ अत्याधुनिक संरचना

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं ७ स्थित भलबारी क्षेत्रको मुहार चार दशकअघिको तुलनामा अहिले पूर्ण रूपले फेरिइसकेको छ। २०३६ सालमा जब नेपाल आयल निगमले यस क्षेत्रमा पेट्रोलियम पदार्थको डिपो स्थापना गरेको थियो, त्यतिबेला यहाँ छिटपुट घरहरू मात्र थिए।

अधिकांश भूभाग खेत र झाडीले भरिएको सुनसान जस्तै थियो। तर, समयको गतिसँगै ४६ वर्षको अन्तरालमा त्यो सुनसान ठाउँ आज सघन बस्ती, व्यस्त सडक सञ्जाल र ठूलठूला व्यावसायिक संरचनाले भरिएको एउटा गुल्जार सहरमा परिणत भइसकेको छ।

सहरीकरणको यो तीव्र विकाससँगै भलबारी डिपो अहिले स्थानीयका लागि सुविधाभन्दा पनि त्रासको विषय बनेको छ। घनाबस्तीको ठिक बीचमा रहेको अति प्रज्वलनशील पदार्थको भण्डारण केन्द्रले सहरी संरचनालाई मात्र कुरूप बनाएको छैन, वरपरका हजारौं नागरिकको जनधन र जीवन सुरक्षामै गम्भीर जोखिम निम्तिएको छ।

इन्धन भण्डारणमा कुनै प्राविधिक त्रुटि वा मानवीय असावधानीका कारण आकस्मिक आगलागी भइहालेमा त्यसले निम्त्याउने परिणाम अकल्पनीय र विनाशकारी हुने निश्चित छ। यही सम्भावित जोखिमलाई हेर्दै स्थानीय बासिन्दा र टोल विकास संस्थाहरूले वर्षौंदेखि डिपोलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न निरन्तर माग उठाउँदै आएका छन्।

मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाही बस्तीको बीचमा रहेको यो डिपो स्थानान्तरणका लागि स्थानीयले पटक-पटक नेपाल आयल निगमको ध्यानाकर्षण गराएको बताउँछन्। मौखिक गुनासो मात्र नभई स्थानीयवासीले संगठित रूपमै स्थानान्तरणको ठोस माग राख्दै निगमलाई औपचारिक ज्ञापनपत्र समेत बुझाइसकेका छन्।

‘बस्तीको बीचमा रहेको यो डिपोमा सानो मात्रै घटना घटे पनि त्यसको जोखिम र क्षतिको अन्दाज गर्न सकिँदैन,’ अध्यक्ष शाही भन्छन्, ‘यही कारणले हामीले सरोकारवाला निकायको ढोका घचघच्याउँदै बारम्बार आवाज उठाएका हौँ। डिपोको वर्तमान अवस्थाले दुर्घटना र जनधनको क्षतिको सम्भावनालाई अत्यन्तै बढाएको छ।’

बस्तीमा डिपो : दैनिक जीवन र आपूर्ति व्यवस्थापनमै चुनौती
भलबारी डिपो मुख्य राजमार्गसँगै जोडिएको छ। बढ्दो मागअनुसार डिपोको पार्किङ र भण्डारण संरचना भने अत्यन्तै सीमित र साँघुरो छ। इन्धन बोकेर आउने ट्याङ्करहरूलाई सुरक्षित पार्किङको सुविधा दिन नसक्दा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ।

व्यस्त राजमार्गमा पेट्रोलियम ट्याङ्करहरू रोकिँदा एकातिर ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतिर ती प्रज्वलनशील वस्तुमा कुनै बाहिरी कारणले आगलागी भएमा त्यसले भयानक रूप लिन सक्छ।

लुम्बिनी प्रादेशिक डिपोका प्रमुख शैलेन्द्र भुसाल स्थानीयको यही माग र जोखिमलाई मध्यनजर गर्दै डिपो स्थानान्तरणको प्रक्रिया अगाडि बढिरहेको बताउँछन्।

‘भलबारी डिपो लुम्बिनी प्रदेशमा इन्धन आपूर्ति व्यवस्थापनको मुटु नै हो। करिब साढे पाँच बिघा जमिनमा खुम्चिएको यो डिपोमा पेट्रोल, डिजेल र मट्टितेलको सीमित भण्डारण क्षमता मात्र रहेको छ,’ उनी भन्छन्, ‘हामी डिपो अन्त्यत्र सार्न लागिसकेका छौँ।’

तथ्याङ्कअनुसार यहाँ पेट्रोल जम्मा ५१९ किलोलिटर, डिजेल ३ हजार ०४० किलोलिटर र मट्टितेल २८० किलोलिटर मात्र भण्डारण गर्न सकिने क्षमता छ।

यही साँघुरो डिपोबाट रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व र बागलुङका केही पम्पहरूमा समेत इन्धन आपूर्ति हुँदै आएको छ। यी जिल्लाका २०० भन्दा बढी डिलरहरू पूर्ण रूपमा यही डिपोको सेवामा निर्भर छन्।

हाल यस डिपोमा नेपालकै अमलेखगञ्ज र भारतको बेतालपुर डिपोबाट पेट्रोलियम पदार्थ आयात गरिन्छ। निगमका अनुसार भलबारी डिपोबाट दैनिक रूपमा करिब ३०० किलोलिटर पेट्रोल, ७०० किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल आपूर्ति हुने गरेको छ।

तर, भलवारी डिपोको हालको मौज्दात क्षमताले बजारको मागअनुसार पेट्रोल जम्मा दुई दिन र डिजेल करिब चार दिन मात्र धान्न सक्छ।

हालको स्थानमा डिपोको भण्डारण क्षमता बढाउनका लागि जग्गाको अभाव छ र अन्य विकल्प पनि सीमित छन्। कुनै कारणवश सडक अवरुद्ध भएमा वा भारतबाट इन्धन लोड हुन नसकेमा यो डिपो २ देखि ३ दिनभित्रै रित्तो हुने अवस्था छ।

रोहिणी नदी किनारमा बन्दैछ अत्याधुनिक नयाँ डिपो
बस्तीको जोखिम र भण्डारणको सीमिततालाई अन्त्य गर्न नेपाल आयल निगमले रुपन्देहीकै रोहिणी नदी किनारमा नयाँ, आधुनिक र वृहत् क्षमताको डिपो निर्माणको काम थालनी गरेको छ।

नेपाल आयल निगमका अधिकृत प्रतिनिधि रामहरि निरौलाका अनुसार पहिलो चरणको काम अन्तर्गत १० करोड रुपैयाँको लागतमा जग्गा सम्याउने र नदी कटान रोक्न रिटेनिङ वाल (पर्खाल) निर्माण गर्ने काम सम्पन्न भइसकेको छ।

यद्यपि, निर्माणको प्रक्रियामा एउटा प्रशासनिक खुड्किलो पार गर्न बाँकी छ। डिपो निर्माण स्थलमा पर्ने करिब ५ बिघा सार्वजनिक जग्गा रोहिणी र ओमसतिया गाउँपालिकाको सिमानामा पर्ने भएकाले ती दुई पालिकाबाट आवश्यक निर्णय हुन अझै बाँकी छ।

‘गाउँपालिकाहरूबाट जग्गा प्राप्तिको सिफारिस भएपछि उक्त फाइल प्रमुख जिल्ला अधिकारी हुँदै मन्त्रिपरिषद्मा पुग्छ र त्यहाँबाट अन्तिम निर्णय हुन्छ,’ निरौलाले प्रक्रियाबारे प्रष्ट पार्दै भने, ‘मन्त्रिपरिषद्बाट जग्गाको भोगाधिकारसम्बन्धी निर्णय भएपछि मात्रै निगमले डिपो निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गर्नेछ।’

करिब ६ अर्ब रुपैयाँमा निर्माण हुन गइरहेको यो नयाँ डिपो पूर्ण रूपमा आधुनिक, प्रविधिमैत्री र सुविधा सम्पन्न हुने प्रतिनिधि निरौलाले जानकारी दिए। कुल २५ दशमलव ५ बिघा फराकिलो क्षेत्रफलमा निर्माण भइरहेको यस डिपोको कुल भण्डारण क्षमता १८ हजार ६८८ किलोलिटर हुनेछ।

जसअन्तर्गत डिजेल १३ हजार ५०० किलोलिटर, पेट्रोल ४ हजार ९६० किलोलिटर र मट्टितेल २२८ किलोलिटर भण्डारण गर्न सकिनेछ। यो क्षमता हालको भलबारी डिपोको तुलनामा कैयौं गुणा बढी हो।

नयाँ डिपोमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। सम्भावित आगलागी र अग्नि सुरक्षाका लागि अत्याधुनिक फायर फाइटिङ प्रणाली जडान गरिनेछ। यसका लागि २ हजार १०० किलोलिटर क्षमताका दुईवटा विशाल पानी ट्याङ्की निर्माण गरिनेछ, जसबाट आपतकालीन समयका लागि ४ हजार २०० किलोलिटर पानी सधैँ भण्डारण गरेर राख्न मिल्नेछ।

यसका साथै, इन्धनको सहज लोडिङ र अनलोडिङ सुविधाका लागि छुट्टाछुट्टै ८/८ वटा आधुनिक ‘वे’ निर्माण गरिने निगमले जनाएको छ।

पूर्ण अटोमेसन प्रणालीमा आधारित रहने यो डिपोभित्र प्रशासनिक भवन, कन्ट्रोल भवन, अत्याधुनिक प्रयोगशाला, बिलिङ स्टोर भवनका साथै कार्यालय प्रमुख र कर्मचारीहरूका लागि सुरक्षित आवास गृह समेत निर्माण गर्ने गुरूयोजना तयार पारिएको छ।

यो नयाँ डिपो पूर्ण रूपमा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको इन्धन आपूर्तिमा क्रान्ति आउनेछ र यसले कुनै पनि आपतकालीन अवस्थामा पनि प्रदेशभरिको एक महिनासम्मको इन्धन मागलाई सहजै पूरा गर्न सक्षम हुने निगमको दाबी छ।

चैत २, २०८२ सोमबार ०९:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।