होर्मुज स्ट्रेट नखोले नेटोको भविष्य संकटमा पर्छ : डोनाल्ड ट्रम्प

होर्मुज स्ट्रेट नखोले नेटोको भविष्य संकटमा पर्छ : डोनाल्ड ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले ‘होर्मुज स्ट्रेट’ खोल्न मद्दत नगरे यसले नेटोको भविष्यमा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

‘फाइनान्सियल टाइम्स’ पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग बेइजिङमा हुने आगामी भेटवार्ता अघि नै चीनले पनि यो बाटो खोल्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘चीनले आफ्नो ९० प्रतिशत तेल यही बाटोबाट ल्याउँछ।’

होर्मुज स्ट्रेट मध्यपूर्वको खाडी क्षेत्रमा पर्ने एउटा महत्त्वपूर्ण सामुद्रिक मार्ग हो, जहाँबाट विश्वको धेरैजसो तेलको व्यापार हुने गर्छ।

बेइजिङमा हुने उक्त बैठक मार्चको अन्त्यमा हुँदैछ। तर, ट्रम्पले बैठक हुन अझै दुई हप्ता बाँकी रहेको र यो लामो समय भएको भन्दै चीनले त्यो भन्दा अगाडि नै कदम चालोस् भन्ने चाहेको बताए।

नेटो र युरोपेली सहयोगीहरूबारे बोल्दै ट्रम्पले जसले होर्मुज स्ट्रेटबाट फाइदा लिन्छन्, उनीहरूले नै यसलाई फेरि खोल्न मद्दत गर्नु उचित हुने बताए। युरोप र चीन खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहेको उनको भनाइ छ।

यदि अन्य देशहरूले यसमा कुनै प्रतिक्रिया नजनाए यो नेटोको भविष्यका लागि धेरै नराम्रो हुने भन्दै उनले अमेरिका आफ्ना युरोपेली मित्रराष्ट्रहरूप्रति धेरै नरम भएको पनि बताए।

उनले असन्तुष्टि व्यक्त गर्दै भने, ‘हामीलाई युक्रेनको लागि उनीहरूलाई मद्दत गर्नु जरुरी थिएन। युक्रेन हामीबाट हजारौं माइल टाढा छ, तर पनि हामीले मद्दत गर्यौं। अब हामी हेर्छौं कि उनीहरूले हामीलाई मद्दत गर्छन् कि गर्दैनन्। मैले सधैँ भन्दै आएको छु- हामी उनीहरूका लागि सधैँ उपस्थित हुन्छौं, तर उनीहरू हाम्रो लागि हुँदैनन्। मलाई लाग्दैन कि उनीहरूले हाम्रो लागि मद्दत गर्नेछन्।’

ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई होर्मुज स्ट्रेट खोल्न संयुक्त प्रयास गर्न आग्रह गरेको भोलिपल्टै यो प्रतिक्रिया दिएका हुन्।

चैत २, २०८२ सोमबार ०८:१३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।