रवि लामिछानेको मुद्दामा 'स्वार्थ बाझिने' प्रश्न : नागरिकता र सहकारी ठगी रिटमा वकालत र आदेश गर्ने न्यायाधीशकै इजलासमा बहस
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको पछिल्लो कानुनी विवादमा 'स्वार्थ बाझिने' विषयले प्रवेश पाएको छ। लामिछानेको निष्क्रिय नागरिकता विवादमा उनको पक्षबाट बहस गरेका तत्कालीन वकिल (हाल न्यायाधीश) सुनिल पोखरेलकै इजलासमा आइतबार उनको अर्को महत्वपूर्ण मुद्दाको सुनुवाइ सुरु भएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा हटाउन दिएको स्वीकृति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षको बहस सुन्न थालेको इजलासमा न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल पोखरेल छन्।
आइतबार बहस सुरु हुनुअघि निवेदक पक्षका वकिलहरूले न्यायाधीशद्वयमाथि स्वार्थको द्धन्द्धबारे प्रश्न उठाएका थिए। रिटकर्ताको तर्फबाट बहसमा सहभागी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रविको निष्क्रिय नागरिकताको मुद्दामा पक्षमा बहस गरेको भन्दै पोखरेलमाथि प्रश्न उठेको थियो।
जवाफमा न्यायाधीश पोखरेलले आफूले एक वर्ष आफू वकिलहुँदाका सेवाग्राहीका मुद्दा नहेरेको तर अब हेर्ने जवाफ दिएका थिए। अर्की न्यायाधीश सारंगा सुवेदीको इजलासले लामिछाने विरुद्धको सहकारी ठगीको जाहेरी दर्ता गर्न यसअघि उनकै इजलासले आदेश दिएको थियो। सुवेदीले पनि अहिलेको विषय फरक भएको भन्दै सुनुवाइ अगाडि बढाएकी थिइन्।
सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लागेकोमा महान्यायाधिवक्ताको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग सच्याउने निर्णय गरेपछि तीन रिट परेका थिए। त्यसमा आइतबारबाट निरन्तर सुनुवाइ शुरु भएको हो। आइतबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा छ।
चैत १, २०८२ आइतबार २१:५७:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।