बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ झिक्दै

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं : बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप २० अर्ब रुपैयाँ झिक्ने भएको छ। तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

राष्ट्र बैंकका अनुसार यस प्रक्रियाका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ। बैंकहरूमा निक्षेप बढेसँगै अन्तर बैंक ब्याजदर घट्ने र तरलता अधिक हुने अवस्था आएपछि राष्ट्र बैंकले बजार सन्तुलन कायम गर्न नियमित रूपमा पैसा झिक्ने गर्दछ।

बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। 

निक्षेप संकलनको ब्याजदर बोलकबोलका आधारमा तय हुनेछ भने एउटै संस्थाले बहुब्याजदरमा पनि बोलकबोल गर्न पाउने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले २८ दिनका लागि उक्त रकम बजारबाट तान्न लागेको हो। यस उपकरणमार्फत संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ। पछिल्लो समय बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेका कारण राष्ट्र बैंकले पटक-पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।

चैत १, २०८२ आइतबार १२:४५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।