समानुपातिक सांसदको नाम पठाउने आज अन्तिम दिन, दलहरूको अन्तिम कसरत
काठमाडौं : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका सांसदहरूको नामावली बुझाउन राजनीतिक दलहरूलाई दिएको समयसीमा आइतबार सकिँदैछ।
प्रतिनिधि सभाको ११० सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको 'क्लस्टर' र बन्दसूचीको क्रम मिलाएर अन्तिम नाम सिफारिस गर्न थ्रेसहोल्ड कटाएका दलहरू अन्तिम गृहकार्यमा व्यस्त छन्।
समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ दलमध्ये एमाले र श्रम संस्कृति पार्टीले शनिबार नै सांसदको नाम टुङ्गो लगाइ सकेका छन्। बाँकी चार दलले आइतबार नाम टुङ्ग्याएर आयोगमा नामावली पेस गर्नुपर्नेछ।
समानुपातिकतर्फ सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५७ सिट प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २०, एमालेले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ९ सिट पाएका छन्। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ सिट प्राप्त गरेका छन्।
निर्वाचन आयोगले दिएको समयसीमा अनुसार आइतबारभित्र दलहरूले जातीय समूह, लिङ्ग र भूगोलको प्रतिनिधित्व सुनिश्चित गर्दै समानुपातिक सांसदहरूको सूची पेस गर्नुपर्नेछ।
राजनीतिक दलहरूले बन्दसूचीमा रहेका नामहरूमध्येबाट दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु र मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी सूची तयार पार्नुपर्नेछ। यसका साथै, प्रत्येक दलबाट निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्थालाई अनिवार्य पालना गर्नुपर्ने हुन्छ।
सांसदहरूको नाम छनोटका लागि रास्वपाले आइतबार बिहान १० बजे सचिवालय बैठक आह्वान गरेको छ। कांग्रेसको पनि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राप्रपा पनि आन्तरिक छलफल र सूचीलाई अन्तिम रूप दिन सक्रिय छन्।
चैत १, २०८२ आइतबार ०७:३८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।