पराजयपछि एमाले नेतृत्व दबाबमा, 'नेतृत्वले नैतिकता गुमायो, पार्टी रिसेट गरौं'

पराजयपछि एमाले नेतृत्व दबाबमा, 'नेतृत्वले नैतिकता गुमायो, पार्टी रिसेट गरौं'

काठमाडौं : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनपेक्षित पराजय व्यहोरेको एमालेभित्र निर्वाचन परिणामलाई लिएर अन्तरद्वन्द्व चुलिएको छ। पराजयको भारी उठाउन पार्टी नेतृत्वमाथि दबाब बढेपछि संस्थापन पक्ष प्रत्यारोपसहित प्रतिरक्षामा उत्रिएको छ।

निर्वाचनमा  ७८ सिटबाट खुम्चिएर एमाले जम्मा २५ सिटमा सीमित भएको र समानुपातिक मत पनि घटेको छ। संस्थापन पक्षले हारको दोष 'अन्तर्घात' भनेर पन्छिन खोजेपछि इतर पक्षले त्यस स्वीकार्न तयार छैन। इतर पक्षले पराजयको दोष पार्टीको वर्तमान नेतृत्व र सञ्चालन पद्धतिमाथि थोपरिरहेको छ।

नेता सुरेन्द्र पाण्डेले वर्तमान नेतृत्वको कार्यशैली र हठलाई नागरिकले अस्वीकार गरेकोले अब पार्टीको पूर्ण संरचना ‘रिसेट’ गर्नुपर्ने धारणा राखे। सामाजिक सञ्जालमार्फत उनले हारको समीक्षा गर्नुको साटो सत्य बोल्ने कार्यकर्तालाई कारबाहीको धम्की दिनु अदूरदर्शिता भएको बताए।

उनले लेखेका छन्, “जब जनताले मतपत्रबाटै 'अस्वीकार' को कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा 'कारबाही'को धम्की दिनु कतिसम्म बुद्धिमानी होला ? यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने 'नैतिक आधार' अब नेतृत्वसँग कति बाँकी छ?”

नेतृत्वले हारको दोष अरूलाई थोपर्न खोजेको उनको आशय छ। पाण्डेले थपेका छन्, “नेकपा (एमाले) को पूर्ण संरचना र कार्यशैली 'रिसेट' गर्नुपर्ने बेला आइसकेको छ। यस्तो गम्भीर मोडमा पनि 'सबै ठिक थियो, हामीलाई त फसाइयो' भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो। मानौं, कसैले फसायो होला, अन्तर्घात भयो होला - तर अन्तर्घातले ५-१० हजार मत तल-माथि होला। देखिएको ४०-५० हजारको मतान्तरलाई 'फसाइएको' भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो।”

अहिलेको परिणाम कुनै षड्यन्त्र नभई एमालेको वर्तमान सञ्चालन पद्धतिको असफलता भएको उनको भनाई छ। “यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा 'रिजेक्ट' गरेको सन्देश हो। अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौं र 'अरू असफल होलान् र फेरि हाम्रो पालो आउला' भन्ने सोचमै अल्झिरह्यौं भने, त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ,” उनले लेखेका छन्।

२५ सिटमा खुम्चिएपछि एमालेमा भद्रगोल : हारको दोष नेतृत्वलाई, सामाजिक सञ्जालमै छताछुल्ल भयो आक्रोश

फागुन ३०, २०८२ शनिबार २०:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।