खार्ग द्वीपमा अमेरिकी आक्रमणपछि इरानद्वारा युएईको फुजाइरामा ड्रोन प्रहार
एजेन्सी : अमेरिकाले इरानको रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण खार्ग द्वीपमा रहेको सैन्य ठेगानाहरूमा 'विध्वंसकारी' हमला गरे लगत्तै इरानले संयुक्त अरब इमिरेट्स (युएई) को फुजाइरा बन्दरगाहलाई निशाना बनाएको छ।
युएईका अधिकारीहरूका अनुसार फुजाइरा बन्दरगाहमा इरानले प्रहार गरेका ड्रोनहरूलाई हवाई सुरक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, ती नष्ट गरिएका ड्रोनका अवशेषहरू खस्दा बन्दरगाह परिसरमा भीषण आगलागी भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा बन्दरगाहको पूर्वाधार क्षेत्रबाट बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिएको छ।
फुजाइरा मध्यपूर्वकै ठूलो तेल भण्डारण र इन्धन भर्ने केन्द्र हो। यो बन्दरगाह ओमानको खाडीमा अवस्थित छ। होर्मुज स्ट्रेट पार गर्नु नपर्ने हुनाले यो क्षेत्र हालको युद्धकालीन अवस्थामा ढुवानीका लागि सुरक्षित मानिँदै आएको थियो।
"हरेक सैन्य ठेगाना नष्ट गरियो" – राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मुख्य तेल टापु खार्ग द्वीपमा रहेका 'हरेक सैन्य ठेगाना'लाई अमेरिकी सेनाले पूरै नष्ट गरिदिएको दाबी गरेका छन्। खार्ग द्वीप इरानको कुल तेल निर्यातको ९० प्रतिशत हिस्सा ओगट्ने आर्थिक नाभि मानिन्छ।
इरानी रिभोलूशनरी गार्ड्स कोर (आईआरजीसी) ले खार्ग द्वीपमा भएको हमलाको बदला स्वरूप युएईका बन्दरगाह र अमेरिकी सैन्य ठेगानाहरू अब आफ्ना लागि "वैध निसाना" भएको घोषणा गरेको छ।
"युएईका शहरहरूमा रहेका अमेरिकी क्षेप्यास्त्र र सैनिक लुक्ने स्थलहरूमा आक्रमण गर्नु हाम्रो वैध अधिकार हो। मुस्लिम समुदायले सम्भावित क्षतिबाट जोगिन यी क्षेत्र खाली गर्नुपर्छ" उसले कर्णेल इब्राहिम जुल्फीगरीले भनेका छन्।
कतार र अन्य क्षेत्रमा त्रास
इरानको चेतावनीपछि कतारको राजधानी दोहामा रहेका गुगल र अमेरिकन एक्सप्रेस जस्ता अमेरिकी कम्पनीका कार्यालयहरू रहेका क्षेत्र (मुशेइरेब डिस्ट्रिक्ट) खाली गर्न सर्वसाधारणलाई सन्देश पठाइएको छ। यता युएई प्रशासनले भने भ्रामक भिडियो र सूचना फैलाउनेहरूलाई पक्राउ गरिरहेको छ।
विशेषज्ञहरूका अनुसार इरानसँग अझै पनि ठूलो सङ्ख्यामा विस्फोटक ड्रोनहरू सुरक्षित छन्। इरानले अब तेल भण्डार मात्र नभई मानिसहरू पिउने पानीका लागि निर्भर रहने 'डीस्यालिनेशन प्लान्ट' (नुनिलो पानीलाई पिउने बनाउने केन्द्र) हरूमा समेत आक्रमण गर्न सक्ने चिन्ता बढेको छ। यसले मध्यपूर्वमा ठूलो मानवीय संकट निम्त्याउन सक्छ।
फागुन ३०, २०८२ शनिबार १९:५५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।