बलिउडमा नवप्रवेशीको शोषण : प्रलोभनदेखि देह व्यापारसम्मको खुलासा
एजेन्सी : भारतीय अभिनेत्री तनुश्री दत्ताले मनोरञ्जन उद्योगमा नयाँ कलाकारहरूले भोग्नुपर्ने चरम शोषण र त्यसको परिणामबारे खुलासा गरेकी छन्। एउटा अन्तर्वार्तामा उनले उद्योगमा आउने नयाँ व्यक्तिहरूलाई सुरुमा विभिन्न प्रलोभनमा पारेर अन्त्यमा देह व्यापारको दलदलसम्म पुर्याइने गरेको दाबी गरेकी हुन्।
दत्ताका अनुसार बलिउडमा स्टार बनाइदिने भ्रामक आश्वासन दिएर नयाँ कलाकारहरूलाई शोषणको जालमा पारिन्छ। सुरुमा प्रशंसा गरेर नजिक बनाउने र त्यसपछि विभिन्न व्यक्तिहरूलाई भेट्न दबाब दिने प्रवृत्तिले नवप्रवेशीहरू जोखिममा पर्ने उनको भनाई छ।
कलाकारहरूले सानैदेखि अभिभावकले सिकाउने 'अपरिचितबाट सतर्क रहने' सिद्धान्तलाई कार्यक्षेत्रमा पनि कडाइका साथ पालना गर्नुपर्ने उनले बताइन्। शोषणको सिकार भएका कतिपय युवायुवतीको मानसिक अवस्था र भविष्यबारे चिन्ता व्यक्त गर्दै तनुश्रीले भनिन्, "धेरैको प्रयोग र शोषण गरेर उनीहरूलाई अलपत्र पारिन्छ। कतिपय त मानसिक रूपमा यति धेरै टुट्छन् कि उनीहरूलाई देह व्यापारको धन्दामा लाग्न बाध्य पारिन्छ।"
उनले सफलताका कथाहरू मात्र बाहिर आउने तर पीडित भएर घर फर्किनेहरूको वास्तविकता सधैँ ओझेलमा पर्ने गुनासो समेत गरिन्। नयाँ पुस्तालाई सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले कलाकारहरूको सपना र महत्त्वाकांक्षाको दुरुपयोग गर्नेहरूसँग सावधान रहन सुझाव दिइन्।
उनले उद्योगमा हुने 'सम्झौता'लाई कहिल्यै स्वीकार नगर्ने बताएकी छन्। सोही कारणले उनले एक अभिनेत्रीसँगको मित्रता समेत तोडेको उल्लेख गरिन्। उनले भनिन्, "म एक कलाकार हुँ, कुनै व्यापारिक वस्तु होइन। म मेरो जीवन र नैतिकताको सौदा गर्दिनँ।"
फागुन ३०, २०८२ शनिबार १९:३७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।