घर फर्किन चाहने नेपालीलाई दूतावासको अनुरोध, 'आवेदन दिनुहोस्'

घर फर्किन चाहने नेपालीलाई दूतावासको अनुरोध, 'आवेदन दिनुहोस्'

काठमाडौं : कतारको दोहास्थित नेपाली दूतावासले मध्यपूर्वमा जारी तनावको कारण साउदी अरेबिया हुँदै स्वदेश फर्कन चाहने नेपालीलाई पर्यटक भिसाका लागि आवेदन दिन आग्रह गरेको छ। दूतावासले शनिबार एक अनुरोध जारी गरेर यस्तो आग्रह गरेको हो।

दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थललाई ट्रान्जिट बनाएर नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकले 'ताशिर साउदी भिसा सेवा केन्द्र' मार्फत पर्यटक भिसाको आवेदन दिन सक्नेछन्। यसका लागि पूर्व अपोइन्टमेन्ट बुक गर्न दूतावासले सुझाएको छ।

दूतावासद्वारा जारी सूचनामा भनिएको छ, "मध्यपूर्वको वर्तमान परिस्थितिको सन्दर्भमा साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिनका लागि अपोइन्टमेन्ट बुक गर्न विनम्र अनुरोध गरिन्छ।"

उक्त भिसा सेवा केन्द्र दोहाको अल घराफास्थित एजदान मलमा रहेको दूतावासले जनाएको छ। भिसा प्रक्रिया वा अन्य थप जानकारी आवश्यक परेमा आवेदकहरूले सिधै भिसा सेवा केन्द्रको टेलिफोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ।

फागुन ३०, २०८२ शनिबार १७:२१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।