१७ हजारको आँखाको दृष्टि फर्काएकी डा. बबिता, जसले ‘फुड पोइजन’ हुँदा पनि शल्यक्रिया रोकिनन्
आँखाको ज्योति गुमाएर संसारलाई अँध्यारो देखिरहेका मानिसहरूले नेत्ररोग विशेषज्ञ डा. बबिता गुरुङ भगवान नै मान्छन्।१७ वर्षको चिकित्सकीय यात्रामा उनले करिब १७ हजारभन्दा बढी व्यक्तिको शल्यक्रिया गरी उनीहरूको जीवनमा पुनः उज्यालो फर्काएकी छन्।
डा. बबिताको दैनिकी नै आँखामा समस्या भएका बिरामीहरूको जाँच गर्ने, औषधि उपचार गर्ने र आवश्यक परे शल्यक्रिया गरेर उनीहरूको दृष्टि फर्काउने काममा बित्छ। तर, सबै प्रयास सधैँ सफल हुन्छन् भन्ने छैन।
कहिलेकाहीँ अथक प्रयास र उपचार गर्दा पनि बिरामीको ज्योति फर्काउन नसक्दा उनी निकै भावुक समेत हुन्छिन्। उनै नेत्ररोग विशेषज्ञ डा. बबिताले चिकित्सकीय पेशाको शिलशिलामा देखे भोगेका अनुभव उकेरासँग साटेकी छन्:
त्यो दुर्गमको शिविर र फुड पोइजनको पीडा
डा. बबिताको सेवा अस्पतालको चार पर्खालभित्र मात्र सीमित छैन। उनी प्रत्येक वर्ष चिकित्सकहरूको टोलीसहित दुर्गम गाउँहरूमा आँखा स्वास्थ्य शिविर लिएर पुग्छिन्।
विशेषगरी नेपालको पश्चिमी र कर्णाली भेगका दुर्गम बस्तीहरू उनको प्राथमिकतामा पर्छन्। यस्तै एउटा शिविरका क्रममा तीन वर्षअघि जुम्लाको दुर्गम गाउँमा पुग्दाको घटना उनको मानसपटलमा अझै ताजै छ।
गाउँको बसाइ, जस्तो पायो त्यस्तै खानुपर्ने बाध्यता। त्यही खानपानका कारण उनलाई कडा ‘फुड पोइजन’ भयो। लगातारको बान्ता र झाडापखालाले उनी आफैँ थला परिन्, शरीर पूरै शिथिल बन्यो।

औषधि उपचारपछि बिस्तारै तङ्ग्रिन उनलाई दुई-तीन दिन लाग्यो। तर, अचम्मको कुरा त के भने, त्यो शिथिल अवस्थामा पनि उनले बिरामीको सेवा गर्न छाडिनन्। सकिनसकी सयौं बिरामीको, विशेषगरी मोतीबिन्दुका कारण दृष्टिविहीन भएकाहरूको शल्यक्रिया गरेर उनीहरूको ज्योति फर्काइन्।
त्यसैगरी कर्णालीकै अर्को एउटा विकट गाउँको सम्झना पनि उनीसँग छ। एक जना वृद्ध आमाको आँखाको शल्यक्रिया गरिरहेका बेला अचानक बत्ती गयो। शल्यक्रिया बीचमै रोक्न मिल्ने अवस्था थिएन। उनले टर्चलाइटको भरमा त्यो जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिन्।
‘भोलिपल्ट पट्टी खोल्दा ती आमाले छर्लङ्ग देखेर जुन खुसी व्यक्त गर्नुभयो, त्यो देख्दा मेरा सबै दुःख र थकान मेटिए। त्यो खुसीलाई म शब्दमा वर्णन गर्नै सक्दिनँ’, उनी भावुक हुँदै भन्छिन्।
अब्बल विद्यार्थीदेखि डाक्टर बन्नेसम्मको यात्रा
२०३३ सालमा कास्कीको पोखरामा जन्मिएकी बबिता सानैदेखि पढाइमा निकै अब्बल थिइन्। उनले २०४८ सालमा पोखराकै गण्डकी बोर्डिङ स्कुलबाट उत्कृष्ट अंकसहित एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि उच्च शिक्षा (प्लस टु) अध्ययनका लागि उनी भारतको बैंगलोर पुगिन्।
सानैदेखि डाक्टर बन्ने हुटहुटी पालेकी बबिताले बैंगलोरबाट फर्केपछि मेडिकल प्रवेश परीक्षाको तयारी गरिन्। उनको मेहेनत खेर गएन, उनी एमबीबीएस अध्ययनका लागि छनोट भएर बंगलादेश पुगिन्।
बंगलादेशको चटगाउँस्थित ‘युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ बाट पाँच वर्षे एमबीबीएस अध्ययन पूरा गरी सन् २००१ मा उनी नेपाल फर्किइन्।

एमबीबीएस सकेर नेपाल फर्किएपछि डा. बबिताले पोखराकै गण्डकी अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गर्न थालिन्। त्यहाँ काम गर्ने क्रममा उनले आँखा विभागको काम नजिकबाट नियाल्ने अवसर पाइन्।
आँखाको शल्यक्रियाको नतिजा तत्कालै देखिने कुराले उनलाई निकै प्रभावित बनायो। अघिल्लो दिनसम्म केही नदेख्ने बिरामी मोतीबिन्दुको शल्यक्रियापछि भोलिपल्टै बाहिरी संसार छर्लङ्ग देखेर खुसीले गद्गद भएको देख्दा उनलाई यो विषय जादुमयी लाग्यो।
‘अरू रोगको उपचारमा लामो समय लाग्छ, तर आँखाको शल्यक्रियाले रातारात मानिसको जीवनमा उज्यालो ल्याउँछ। यही कुराले मलाई नेत्ररोग विशेषज्ञ बन्न प्रेरित गर्यो’, उनी भन्छिन्।
त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर (एमडीएमएस) तहमा नेत्ररोग (अफ्थाल्मोलोजी) विषय छनोट गरिन्। सन् २००९ मा उनले सफलताका साथ आफ्नो एमडीएमएस अध्ययन पूरा गरिन्।
जन्मथलोमै सेवा र नानी प्रत्यारोपणमा विशेषज्ञता
नेत्ररोगमा विशेषज्ञता हासिल गरेपछि डा. बबिताले सुरुमा झापास्थित मेची आँखा अस्पतालमा करिब ६ महिना काम गरिन्। त्यहाँ विशेषज्ञ डाक्टरको अभाव रहेको समयमा उनले सयौँ दृष्टिविहीनलाई नयाँ जीवन दिइन्।
त्यसपछि उनी आफ्नै जन्मथलो पोखरा फर्किइन् र हिमालय आँखा अस्पतालमा आबद्ध भइन्। आफ्नो ज्ञान र सीपलाई अझ तिखार्न सन् २०१५ मा उनले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी (कर्निया) सम्बन्धी विषयमा विशिष्टीकृत (सुपरस्पेसलाइजेसन) फेलोसिप समेत पूरा गरिन्।
विगत १७ वर्षदेखि निरन्तर पोखराको हिमालय आँखा अस्पतालमा कार्यरत डा. बबिता हाल सोही अस्पतालको 'मेडिकल डाइरेक्टर' जस्तो गरिमामय पदमा रहेर नेतृत्व सम्हालिरहेकी छन्।

बिरामीको उपचार गर्ने, चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने र नेत्ररोगसम्बन्धी वैज्ञानिक अनुसन्धान गर्नु उनको नियमित दैनिकी हो। उनी एक सह-प्राध्यापक (एसोसिएट प्रोफेसर) समेत हुन् र उनका थुप्रै अनुसन्धानात्मक लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित छन्।
डा. बबिता विशेषगरी आँखाको नानी (कर्निया) सम्बन्धी उपचारमा दखल राख्छिन्। चोटपटक लागेर, घाउ भएर, फुलो परेर वा अल्सर भएर आँखाको नानी बिग्रिएर दृष्टिविहीन भएका हजारौं बिरामीको उनले सफलतापूर्वक कर्निया प्रत्यारोपण गरेकी छन्।
अस्पतालको प्रशासनिक जिम्मेवारी, बिरामीको चाप र प्राज्ञिक कार्यको व्यस्तताका बाबजुद पनि उनी बेलाबेला दुर्गम गाउँहरूमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्न कहिल्यै छुटाउँदिनन्।
‘जबसम्म मेरा हात र आँखाले साथ दिन्छन्, म मानिसहरूको जीवनमा उज्यालो छर्ने यो अभियानमा निरन्तर लागिरहनेछु’, उनी भन्छिन्।
फागुन ३०, २०८२ शनिबार १२:४१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।