प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
विराटनगर : मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजा सहित एक फार्मेसी सञ्चालिका र अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकस्थित शिव महिमा मेडिकल हल फार्मेसीबाट ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भएकी चौधरीले सटर भाडामा लिएर सञ्चालन गर्दै आएको उक्त फार्मेसीमा प्रतिबन्धित लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले खानतलासी गर्दा फार्मेसीमा लुकाई छिपाइ राखिएको ट्राम डोल र स्पास्पेन गरी जम्मा दुई हजार ९३० ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी, मोरङको विराटनगर–३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन ३०, २०८२ शनिबार ११:०१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।