बंगलादेशविरुद्धको खेलमा सलमान आगाको विवादास्पद रनआउट चर्चामा
एजेन्सी : पाकिस्तानले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय (वनडे) अन्तर्राष्ट्रिय खेलमा १२८ रनको शानदार जित हासिल गर्दै सिरिज १-१ को बराबरीमा ल्याएको छ।
तर, खेलको नतिजाभन्दा पनि पाकिस्तानी ब्याट्सम्यान सलमान आगाको विवादास्पद रनआउटको विषय अहिले क्रिकेट वृत्तमा तातो बहसको विषय बनेको छ।
म्याचपछिको पत्रकार सम्मेलनमा सलमान आगाले उक्त रनआउट क्रिकेटको नियमअनुसार भए पनि खेल भावनाको विपरीत भएको बताए। उता, बंगलादेशका प्रशिक्षक मुश्ताक अहमदले भने कप्तान मेहदी हसन मिराजले कुनै गल्ती नगरेको भन्दै उनको बचाउ गरेका छन्।
म्याचको अवस्था
दोस्रो एकदिवसीय खेलमा बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गर्दै पाकिस्तानले बंगलादेशलाई २७५ रनको लक्ष्य दिएको थियो।
बंगलादेशले जवाफी ब्याटिङ गर्दै ७ ओभरमा ३ विकेट गुमाएर २७ रन बनाएको अवस्थामा वर्षाले खेल रोकियो।
वर्षापछि खेल सुरु हुँदा ५० ओभरलाई घटाएर ३२ ओभरमा झारियो र बंगलादेशले जितका लागि २४३ रनको नयाँ लक्ष्य पायो, जसमा बंगलादेश पराजित हुन पुग्यो।
कसरी भयो रनआउट र किन भयो विवाद?
पाकिस्तानी इनिङ्सका क्रममा बंगलादेशका कप्तान मेहदी हसन मिराजले सलमान आगालाई रनआउट गरेपछि विवाद सुरु भएको थियो।
मोहम्मद रिजवानले मेहदी हसनको बलमा स्ट्रेट सट (अगाडितिर) प्रहार गरेका थिए। नन-स्ट्राइकर एन्डमा रहेका सलमान क्रिजभन्दा अलिकति बाहिर थिए र बल उनलाई नै आएर लाग्यो।
भिडियोमा देखिएअनुसार, बल सलमानको प्याड र ब्याटमा लागेपछि उनले बललाई ब्याटले तानेर बलरलाई फिर्ता दिने प्रयास गरेका थिए। तर त्यही बेला मेहदी हसनले बल टिपेर स्टम्पमा हिर्काइदिए।
बंगलादेशी खेलाडीहरूको अपिलपछि फिल्ड अम्पायरले निर्णयका लागि थर्ड अम्पायरलाई संकेत गरे र थर्ड अम्पायरले आगालाई आउट करार दिए।
यो निर्णयबाट निकै रिसाएका आगाले पेभिलियन फर्किने क्रममा बाउन्ड्री लाइनमा आफ्नो पञ्जा (ग्लभ्स) र हेल्मेट फ्याँकेका थिए।
पत्रकार सम्मेलनमा आगाले आफू रिसाएको स्वीकार गर्दै भने, ‘मैले रन लिने कुनै प्रयास गरेको थिइनँ। बल मेरो प्याड र ब्याटमा लाग्यो, म केवल बलरलाई बल फिर्ता दिन चाहन्थेँ। उनीहरूको मनसाय अर्कै रहेछ। यो नियमअनुसार आउट होला तर खेल भावनालाई सधैँ उच्च प्राथमिकता दिनुपर्छ।’
आफू पाकिस्तानी कप्तान भएको भए यस्तो कहिल्यै नगर्ने पनि उनले बताए।
बंगलादेशी प्रशिक्षकको बचाउ
बंगलादेशका स्पिन बलिङ प्रशिक्षक तथा पूर्व पाकिस्तानी क्रिकेटर मुश्ताक अहमदले कप्तान मिराजको बचाउ गरेका छन्।
उनले भने, ‘सबै कुरा यति छिटो भयो कि कसैले केही बुझ्नै पाएन। बल अझै लाइभ थियो र आगा क्रिज बाहिर थिए। मिराजको स्वाभाविक प्रतिक्रिया बल टिपेर रनआउट गर्नु नै थियो। मलाई लाग्छ यसमा कसैको गल्ती छैन।’
सामाजिक सञ्जाल र पूर्व खेलाडीको प्रतिक्रिया
यो विवादास्पद रनआउटलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
भारतका पूर्व क्रिकेटर मोहम्मद कैफले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो बिल्कुलै ठीक होइन। विकेट लिन जतिसुकै हतार भए पनि यस्तो रनआउटलाई सही मान्न सकिँदैन, त्यो पनि टिमको कप्तानबाटै। फेयर प्ले विना खेल, खेल रहँदैन।’
पाकिस्तानका पूर्व क्रिकेटर मोहम्मद आमिरले यस घटनामा थर्ड अम्पायरको पनि गल्ती रहेको बताए। उनले बलरले ब्याट्सम्यानलाई बाधा पुर्याएको भन्दै थर्ड अम्पायरले ‘बेनिफिट अफ डाउट’ ब्याट्सम्यानलाई दिनुपर्ने धारणा राखे। पाकिस्तानी क्रिकेट समर्थकहरूले यसलाई ‘खेल भावनाको हत्या’ भनेका छन्।
यद्यपि, केही क्रिकेट फ्यानहरूले भने बल ‘लाइभ’नै रहेको अवस्थामा सलमान आगा मर्निङ वाकमा निस्किए झैँ क्रिज बाहिर घुम्नु उनको आफ्नै गल्ती भएको भन्दै क्रिकेट नियमको समर्थन गरेका छन्।
फागुन ३०, २०८२ शनिबार ०९:०७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।