‘राम नाम सत्य’मा सुनिलको जस्तो सुनिने आवाज कसको !

‘राम नाम सत्य’मा सुनिलको जस्तो सुनिने आवाज कसको !

काठमाडौं : फिल्म ‘राम नाम सत्य’को अन्तिम दृश्यको छायांकनका क्रममा मुख्य अभिनेता सुनिल थापाको मृत्यु भयो। फिल्मको काम नसकिँदै उनको मृत्यु भएपछि डबिङको समस्या आइपर्नु स्वाभाविकै थियो। 

हालै सार्वजनिक गरिएको फिल्मको टिजरमा सुनिल थापाको मौलिक आवाज सुनिँदैन। टिजरमा उनको चर्चित संवाद ‘रातेलाई यो कुरा मन परेन’ सुन्न सकिन्छ, त्यो आवाज निकै फरक छ।

नेपाली फिल्मका एक दिग्गज र चर्चित खलपात्रको भौतिक अनुपस्थितिमा उनको आवाजमा कसले डबिङ गर्यो ? के त्यो आवाज सुनिलकै हो ? 

सुनिल थापाको स्वर र शैली नचिन्ने नेपाली दर्शक सायद कमै होलान्। बेग्लै शैली र पहिचान बनाएका सुनिलको स्वरमा कसले प्राण भर्यो भन्ने विषय अहिले कौतूहलको विषय बनेको छ।

सुनिल थापाको आवाजकै नक्कलमा स्वर डबिङ गर्ने कतै प्रभात लामा त होइन भन्ने अडकल काटिएको छ। किनभने उनको आवाज धेर बहुत मिल्न जान्छ। 

उनी पछिल्लो समय कमेडी नाइट वीथ च्याम्पियनमा कहिले राजेश हमालको त कहिले अहिलेका सांसद तथा पूर्व शिक्षामन्त्री महावीर पुनको क्यारिकेचर गरेर चर्चामा छन्। त्यति मात्र होइन, अर्का सांसद तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि दुरुस्तै क्यारिकेचर गरेर चर्चामा छन्। जेनजी आन्दोलनका अगुवा र गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङको दुरुस्तै नक्कल गरेका प्रभातले सुनिलको क्यारिकेचर गरेको हुनसक्ने अनुमान धेरैको छ।

यसअघि उनले जयनन्द लामाको आवाजमा केही फिल्ममा डब गरेका थिए। त्यसमा दर्शकले थाहा नपाए पनि सुनिल थापाको आवाजमा फिल्म ‘राम नाम सत्य’मा भरेनन् होला भन्न सकिन्न। तर उनकै क्यरिकेचर हो, होइन ? त्यो त फिल्मको ट्रेलर सार्वजनिक भएपछि वा फिल्म प्रदर्शनमा आएपछि मात्रै निश्चित हुनेछ। 

यदि दर्शकले सुनिलको मौलिक आवाजसँग मेल खाएन भनेर आलोचना गरे भने निर्माण पक्षले त्यसलाई कसरी लिनेछ ? यो त आगामी चैत २७ गते फिल्म रिलिज भएपछि नै थाहा हुनेछ। जहाँसम्म, सुनिलको त्यो बहादुरी क्यरिकेचर गर्ने वील्सनविक्रम राई त होइनन् ! आखिर अर्काको दुरुस्तै आवाज निकाल्न सक्नेमा विल्सन पनि निकै सिपालु छन्।

फागुन २९, २०८२ शुक्रबार १९:१३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।