इरानको शासन पूर्ण रूपमा ध्वस्त पार्दैछु : ट्रम्प

इरानको शासन पूर्ण रूपमा ध्वस्त पार्दैछु : ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘आतंकवादी शासन’लाई आफूले पूर्ण रूपमा ध्वस्त पारिरहेको दाबी गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत उनले इरानविरुद्ध कडा अभिव्यक्ति दिएका हुन्। राष्ट्रपति ट्रम्पले लेखेका छन्, ‘हामी इरानलाई सैन्य, आर्थिक र अन्य सबै माध्यमबाट तहसनहस बनाइरहेका छौँ।’

उनले इरानको सैन्य क्षमतामाथि गम्भीर प्रहार भएको दाबी गर्दै भने, ‘इरानको नौसेना समाप्त भइसकेको छ, तिनीहरूको वायुसेनाको अब कुनै अस्तित्व छैन। तिनीहरूका मिसाइल, ड्रोन र बाँकी सबै कुराहरू ध्वस्त पारिँदै छ र इरानका नेताहरूलाई पृथ्वीको नक्साबाटै मेटाउने काम भइरहेको छ।’

ट्रम्पले अमेरिकासँग अभूतपूर्व सैन्य शक्ति र असीमित गोला-बारूद रहेको जिकिर गर्दै आफूसँग पर्याप्त समय रहेको बताए।

उनले थपे, ‘तिनीहरूले विगत ४७ वर्षदेखि विश्वभर निर्दोष मानिसहरूलाई मारिरहेका छन्। अब संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा, म तिनीहरूलाई समाप्त गर्दै छु। यस्तो गर्न पाउनु मेरो लागि कति ठूलो सम्मानको कुरा हो।’

इरान र अमेरिकाबीचको दशकौँ लामो तनावपूर्ण सम्बन्धका बीच ट्रम्पको यो पछिल्लो टिप्पणीले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

फागुन २९, २०८२ शुक्रबार १४:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।