राहदानी बनाउँदै हुनुहुन्छ? नयाँ प्रणालीमा जाँदै विभाग, आगामी केही महिना सेवा प्रभावित हुने

राहदानी बनाउँदै हुनुहुन्छ? नयाँ प्रणालीमा जाँदै विभाग, आगामी केही महिना सेवा प्रभावित हुने

काठमाडौं : राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित र आधुनिक बनाउन नयाँ प्रणालीमा जाने तयारी गरेको छ। विभागले नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी राहदानी जारी गर्ने प्रणालीमा परिवर्तन गर्न लागेको हो।

विभागले बिहीबार एक सूचना जारी गर्दै आगामी एक-दुई महिनाभित्रै नयाँ प्रणालीमा रूपान्तरण हुने र त्यस क्रममा सेवा प्रवाहमा केही ढिलाइ वा अवरोध हुन सक्ने जनाएको छ।

नयाँ प्रणालीमा जाने क्रममा र त्यसपछिको ‘स्थिरीकरण’ अवधिमा सेवाग्राहीले निम्न समस्या भोग्नुपर्ने हुनसक्ने विभागले जनाएको छ।

जसअनुसार जिल्ला र विदेशबाट सेवा लिनेहरूका लागि सेवा १ देखि ३ हप्तासम्म, राहदानी विभागले दिने सेवा पनि करिब १ हप्तासम्म बन्द र नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि पनि तीन सेवा सहज हुन तीन महिनासम्म लाग्नसक्ने विभागले जनाएको छ।

यो अवधिमा राहदानी आवेदन दिएमा अहिलेको तुलनामा बढी समय लाग्नसक्ने विभागले चेतावनी दिएको छ।

राहदानी विभागले आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई नयाँ प्रणाली सुरू हुनुअघि नै समयमै राहदानी लिन आग्रह गरेको छ।

विभागले सूचनामार्फत भनेको छ, ‘आगामी ६ महिनाभित्र राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी लिइसक्नुहुन अनुरोध छ।’

नयाँ प्रणाली कहिलेबाट सुरू हुन्छ र सो अवधिमा वैकल्पिक व्यवस्था के हुनेछ भन्ने बारेमा विभागले पछि अर्को सूचनामार्फत जानकारी दिने जनाएको छ।

फागुन २९, २०८२ शुक्रबार १२:२०:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।