जेनजी आन्दोलनमा सुन्धारा जेलबाट भागेका बलात्कारीसहित दुई फरार अपराधी पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा जेलबाट भागेका बलात्कारीसहित दुई फरार अपराधी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका एक जना कैदीसहित दुई जना फरार अपराधीलाई पक्राउ गरेको छ।

ब्यूरोले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको हो।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ३० वर्षीय नुमेश वाईबा रहेका छन्।

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १० वर्षको कैद सजाय काटिरहेका वाईबा ‘जेन-जी’ आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका थिए।

ब्यूरोको टोलीले उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू क्षेत्रबाट पक्राउ गरी पुनः सुन्धारा कारागार कार्यालयमै बुझाएको छ।

यसैगरी, पक्राउ पर्ने अर्का व्यक्ति खोटाङको बराहपोखरी गाउँपालिका-१ स्थायी घर भई हाल काठमाडौंको वसुन्धरा बस्ने ४१ वर्षीय नवराज लुईटेल रहेका छन्।

सरकारी कागज, छाप र दस्तखत किर्ते गरेको मुद्दामा अदालतबाट ५० रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय तोकिएका लुईटेल घटनाको सुरुदेखि नै फरार रहेका थिए।

उनलाई सीआईबीले काठमाडौं महानगरपालिका-३ वसुन्धराबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।

फागुन २९, २०८२ शुक्रबार ०९:००:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।