शुक्रबारदेखि आधा सिलिण्डर ग्यास मात्र पाइने, यस्तो छ कारण
काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ।
निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ किलो ग्यास भरिएको सिलिण्डर ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो।
बिहीबार एक सूचना जारी गरेर निगमले सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउने उद्देश्यले अर्को निर्णय नभएसम्मका लागि यो व्यवस्था लागू गरिएको जनाएको छ। निगमले आम उपभोक्तालाई सोही मूल्य र तौलअनुसार मात्र ग्यास खरिद गर्न अनुरोधसमेत गरेको छ।
नियमित रूपमा माग अनुरूप नै ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्लो दुई-तीन महिनायता काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको निगमले जनाएको छ।
साथै, मध्यपूर्वमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमै असर परिरहेको र त्यसकै प्रभावका कारण हालको परिस्थितिलाई व्यवस्थित गर्न नयाँ निर्णय लिनुपरेको निगमले स्पष्ट पारेको छ।
फागुन २८, २०८२ बिहीबार २१:५६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।