महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

महावीर पुनमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं : पोखरामा पुस्तक बिक्री गरिरहेका पूर्वमन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सांसद महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

कास्की प्रहरीले पोखरा महानगरपालिका- १३ बाँझापाटन बस्ने विकास गुरुङलाई बिहीबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार गुरुङलाई पोखरा- ९ महेन्द्रपुलबाट नियन्त्रणमा लिइएको हो। 

गत सोमबार पोखराको पृथ्वीचोकमा पुनले आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बिक्री गरिरहेका बेला गुरुङले उनीमाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीका अनुसार पक्राउ परेका गुरुङ यसअघि लागुऔषध मुद्दामा सजाय पाइसकेका व्यक्ति भएको खुलेको छ।

वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पुन केही समयदेखि देशका विभिन्न सहर र चोकमा पुगेर आफैँ पुस्तक बिक्री गरिरहेका छन्। सोही अभियानका क्रममा उनी पोखरा पुगेका बेला यो घटना भएको थियो। 

फागुन २८, २०८२ बिहीबार १९:१३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।