धनुषा- १ का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह 'कमल'लाई कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ।
नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाएर दायर गरेको सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।
कर्जा सूचना केन्द्रले साह सञ्चालक रहेको 'कमल निर्माण सेवा प्रालि'ले बैंकिङ दायित्व पूरा नगरेको भन्दै उनलाई कालोसूचीमा राखेको थियो। सोही आधारमा निर्वाचन आयोगले मतदानको दुई दिनअघि साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।
आयोगको निर्णयविरुद्ध र आफूलाई गलत ढंगले कालोसूचीमा राखिएको दाबी गर्दै साहले सर्वोच्चमा रिट दायर गरेका थिए। उम्मेदवारी खारेज भएता पनि फागुन २१ गते सम्पन्न निर्वाचनमा साहको चुनाव चिह्न 'घण्टी'मा धेरै मत खसेको थियो।
तर, उम्मेदवारी खारेज भइसकेकाले निर्वाचन आयोगले साहले पाएको मतलाई गणनामा नलिई नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिसकेको छ।
सर्वोच्चको आदेशसँगै साहको उम्मेदवारी पुनः वैध हुने कानुनी बाटो खुलेको छ। साहको पक्षबाट बहस गरिरहेका अधिवक्ता दीपेन्द्र झाका अनुसार सर्वोच्चको यो आदेशले साहको उम्मेदवारी कायम रहने आधार तय गरेको छ, जसले गर्दा उनले प्राप्त गरेको मतको कानुनी हैसियत पुनः स्थापित हुने देखिन्छ।
फागुन २८, २०८२ बिहीबार १८:५७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।