नयाँ शक्तिको पुरानै प्रवृत्ति, आचारसंहिता विपरीत देखियो चुनावी खर्च
बुटवल : गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले निर्वाचन आचारसंहिताले पूर्ण रुपमा प्रतिबन्ध लगाएका चुनाव प्रचार सामग्रीमा खर्च गरेको पाइएको छ।
जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा उनले बुझाएको आधिकारिक निर्वाचन खर्च विवरणमै प्रतिबन्धित सामग्री ‘टिसर्ट, क्याप र ब्याच’ छपाइमा २ लाख ५६ हजार रुपैयाँ खर्च गरेको उल्लेख छ।
जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा उनले बुझाएको आधिकारिक खर्च विवरणअनुसार पन्थीले कुल १२ लाख ५१ हजार ३३२ रुपैयाँ खर्च गरेका छन्। यसमध्ये एक लाख ४३ हजार ९५ रुपैयाँ निर्वाचन प्रचारप्रसार सामग्री जस्तै झण्डा, टोपी, व्याजमा खर्च भएको उल्लेख छ भने प्रचारप्रसार सामाग्री (स्टिकर, टिसर्ट आदिमा) एक लाख १३ हजार २९० रुपैयाँ खर्च भएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था निर्वाचन आयोगले तोकेको थियो। तर, पन्थीले आफ्नो खर्च विवरणमा स्पष्टरुपमा ‘प्रचार प्रसार सामग्री (टोपी, टिसर्ट, झण्डा, व्याज)’ शीर्षक राखेर दुई लाख ५० हजार बढी रकम खर्च भएको लिखित रूपमा प्रस्तुत गरेका छन्।
आचारसंहितामा के छ व्यवस्था ?
माघ ५ गतेदेखि लागू भएको ‘निर्वाचन आचारसंहिता, २०८२’ले यस्ता सामग्रीको उत्पादन, वितरण वा प्रदर्शनमा निषेध गरेको छ।
आचारसंहिताको दफा ४ (घ) अनुसार ‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी, क्याप, स्टिकर, झोला, व्याच, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वा वितरण गर्न निषेध गरिएको’ उल्लेख छ।
आचारसंहिता उल्लंघन हुँदा के हुन्छ ?
निर्वाचन आयोगले यस्ता सामग्री वितरणलाई मतदातालाई ‘आर्थिक प्रलोभन’ वा ‘मत किन्ने प्रयास’ मान्ने गरेको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लंघन गर्नेले एक लाख रुपैयाँसम्म जरिवाना भोग्न सक्छन्।
यदि उल्लंघनको असर निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर ठहरिएमा विजयी घोषणापछि समेत उम्मेदवारको पद रद्द गर्न सक्ने व्यवस्था छ। त्यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अन्तर्गत तोकिएको भन्दा विपरीत सामग्री प्रयोग गरेमा उक्त सामग्री जफत गरी जरिवाना गर्ने प्रावधान पनि रहेको छ।
पन्थीको जित
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पन्थीले एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै विजयी भए।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार रास्वपाका पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा निकटतम विष्टले १६ हजार ४०६ मत प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत पाउँदै तेस्रो स्थानमा रहे।

फागुन २८, २०८२ बिहीबार १७:५३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।