बढ्न थाल्यो शहरी क्षेत्रमा तापक्रम : नेपालगञ्जमा ३१.१ डिग्री सेल्सियस, काठमाडौंमा २५.४

बढ्न थाल्यो शहरी क्षेत्रमा तापक्रम : नेपालगञ्जमा ३१.१ डिग्री सेल्सियस, काठमाडौंमा २५.४

काठमाडौं : देशका विभिन्न शहरमा तीन दिनयता अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएकोदेखिएको छ। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार तराई तथा मधेसका धेरैजसो शहरमा तापक्रम क्रमशः बढ्दै गएको छ।

राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो। आज (बिहीबार) मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ। आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ। 

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ। सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ। आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।

गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। समग्रमा आगामी तीन दिनमा देशका अधिकांश शहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ। 

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ। 
“हावाको आद्र्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ। आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने। 

फागुन २८, २०८२ बिहीबार १६:४१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।