इनिसा विकको लागि न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं : सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ।
उक्त घटनाको विरोधमा बिहीबार काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर प्रदर्शन गरिएको हाे। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्।
उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे, पित्तृसत्ता मुर्दावाद, हत्यारालाई कारवाही गर’ लगायतका व्यानर बोकेका थिए।
देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।

उक्त घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। सुर्खेत प्रहरीले बुधाबार उक्त घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकाको शव बुझेका छैनन्।
पीडित परिवारले दिएको जाहेरीका आधारमा शवपरीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ। सो प्रतिवेदनअनुसार जबर्जस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ।
उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।



फागुन २८, २०८२ बिहीबार १५:१३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।