भदौ २३ र २४ गते आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नविरुद्ध काभ्रे अदालतमा नौ 'आपराधिक उपद्रव' मुद्दा दर्ता

भदौ २३ र २४ गते आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नविरुद्ध काभ्रे अदालतमा नौ 'आपराधिक उपद्रव' मुद्दा दर्ता

काभ्रेपलाञ्चोक : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा नौ वटा ‘आपराधिक उपद्रव’ सम्बन्धी मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दर्ता भएका ती मुद्दाहरू जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा दर्ता गरिएको हो।

प्रहरीका अनुसार आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिमा क्षति पुर्याएको भन्दै विभिन्न जनप्रतिनिधि र राजनीतिक नेताहरूले किटानी जाहेरी दिएका छन्। जाहेरी दिनेमा धुलिखेलका तत्कालीन नगरप्रमुख अशोक ब्याञ्जू, पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपाने, उनका छोरा दीपक न्यौपाने,  पनौती नगर उपप्रमुख गीता बञ्जारा, २ नं वडाका अध्यक्ष पुरुषोतम अधिकारी र नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईं लगायत रहेका छन्। 

हुमागाईंले ६ जना, वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले १४ जना र भीम न्यौपानेले २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। यस्तै नगरप्रमुख रामशरण भण्डारीले दिएको जाहेरी भने हाल तामेलीमा राखिएको जनाइएको छ।

यसअघि इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल र पनौती नगरपालिका ३ कुशादेवीस्थित गोपी थापाले दर्ता गरेको आपाराधिक उपद्रवविरुद्धको अभियोग दर्ता भएको थियो भने पछिल्ला महिनामा छ मुद्दा प्रहरीमा दर्ता गरिएका थिए । 

यसअघि आरोप लागी पक्राउ गरिएका अधिकांश धरौटीमा छुटेका छन् । निर्वाचनअघि सरकारले परिपत्र गरेपछि हिरासतमा रहेकलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ। 

पूर्व नगरप्रमुख न्यौपानेले गत भदौ २४ गते घरमा भएको आगलागीका कारण ९४ लाख ९३ हजार ५१० क्षति भएको जाहेरीमा उल्लेख गरेका छन्। यस्तै दीपक न्यौपानेको जाहेरीमा ६० लाख ६२ हजार २८५, बञ्जाराको जाहेरीमा ८४ लाख १३ हजार क्षति भएको उल्लेख गरिएको छ। त्यस्तै अधिकारीले ६ लाख ५६ हजार, हुमागाईको ३६ लाख ७४ हजारको क्षति भएको उल्लेख छ। 

यसैगरी ब्याञ्जूको किटानी जाहेरीमा करिब ६० लाख क्षति भएको उल्लेख गरिएको छ। किटानी जाहेरी दर्ता गर्नेले आफ्नो घरमा आगजनी, तोडफोड तथा लुटपाट गरिएको उल्लेख गरेका छन्। जिल्ला प्रहरी प्रमुख कोमल शाहले दर्ता भएका मुद्दामा संलग्न भएकाको खोजीकार्य एवं थप अनुसन्धान भइरहेको बताए। 

जिल्ला प्रशासन कार्यालयका अनुसार आन्दोलनका क्रममा जिल्लाका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो। विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको थियो।

उक्त आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार जनाले काठमाडौँमा ज्यान गुमाएका थिए। 

फागुन २८, २०८२ बिहीबार १४:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।