पछिल्लो छ महिनामा ह्वात्तै बढ्यो तारवाला हेडफोनको खरिद

पछिल्लो छ महिनामा ह्वात्तै बढ्यो तारवाला हेडफोनको खरिद

एजेन्सी : सन् २०१६ मा एप्पलले आइफोनबाट हेडफोन ज्याक हटाउँदा धेरैले अनुमान गरेका थिए- अब तारवाला हेडफोनको युग सकियो।

तर, एक दशकपछि प्रविधि बजारमा उल्टो लहर चलेको छ। ब्लुटुथको झन्झट, कमजोर साउन्ड क्वालिटी र चार्ज गर्नुपर्ने बाध्यताबाट दिक्क भएका मानिसहरू फेरि पुरानै सरल र भरपर्दो तारवाला हेडफोनतर्फ फर्किएका छन्।

पछिल्ला केही महिनामा तारवाला हेडफोनको बिक्री आकाशिएको छ। यो केवल उत्कृष्ट साउन्डको खोजीमा रहेका संगीतका पारखीहरूमा मात्र सीमित छैन, बरु एउटा नयाँ सांस्कृतिक र फेसन ट्रेन्ड नै बनेको छ।

बिक्रीमा अप्रत्याशित वृद्धि
विश्लेषक फर्म ‘सर्काना’का अनुसार लगातार पाँच वर्षसम्म बिक्री घटेको तारवाला हेडफोनको खरिद सन् २०२५ को दोस्रो आधादेखि ह्वात्तै बढ्यो। सन् २०२६ को पहिलो छ हप्तामा मात्रै यसको आम्दानीमा २० प्रतिशतले वृद्धि भएको छ।

अमेरिकाको पोर्टल्याण्डकी एक सामाजिक कार्यकर्ता एरिन ग्रुसिन भन्छिन्, ‘म त अब पूर्ण रूपमा तारवाला हेडफोनमा फर्किसकेँ। केही महिनाअघि मैले आफ्नो मंगेतरको पुरानो इयरबड चलाएँ र त्यसपछि कहिल्यै ब्लुटुथमा फर्किनँ। यसले एक किसिमको आत्मीयता र आराम महसुस गराउँछ।’

किन फर्कियो तारवाला हेडफोनको जमाना?

१. उत्कृष्ट साउन्ड क्वालिटी : हेडफोनको समीक्षा गर्ने वेबसाइट ‘साउन्डगाइज’का सम्पादक क्रिस थोमसका अनुसार, कम पैसामा उत्कृष्ट साउन्ड क्वालिटी चाहने हो भने तारवाला हेडफोनको विकल्प छैन।

‘ब्लुटुथ हेडफोनमा धेरै सुधार भए पनि मुख्यधाराका उत्पादनहरूमा तारवाला हेडफोनले नै राम्रो अडियो दिन्छ। तारमा तपाईंले प्लग गर्नुभयो, बज्यो। कुनै कनेक्सनको समस्या हुँदैन’, उनी भन्छन्।

२. ब्लुटुथको झन्झट : ब्याट्री सकिने, सानो इयरबड हराउने, र सबैभन्दा मुख्य कुरा- डिभाइससँग कनेक्ट (पेयर) नहुने समस्याले धेरैलाई हैरान पारेको छ।

हलिउड अभिनेत्री जोए क्राभिजले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘ब्लुटुथले कामै गर्दैन। यसले महत्त्वपूर्ण क्षणहरू बर्बाद गरिदिन्छ। सोच्नुस् त, तपाईं डेटमा हुनुहुन्छ, राम्रो माहोल बनाउन खोज्दै हुनुहुन्छ, तर तपाईंको ब्लुटुथ कनेक्ट नै हुँदैन!’

३. नयाँ फेसन ट्रेन्ड : अहिले तारवाला हेडफोन एक ‘कुल’ र ‘फेसनदार’ एक्सेसरी बनेको छ। ‘वायर्ड इट गर्ल्स’ नामक एक चर्चित इन्स्टाग्राम अकाउन्टले कानमा तार झुन्ड्याएर हिँड्ने सेलिब्रेटी र आम युवतीहरूका तस्बिर पोस्ट गर्छ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेता रोबर्ट प्याटिन्सन र लिली-रोज डेपको तारवाला इयरबड लगाएको तस्बिर पोस्ट गर्दै लेखे, ‘यो अब वर्गीय पहिचानजस्तै बन्दैछ।’

४. प्रविधिप्रतिको वितृष्णा : धेरै मानिसहरू अत्याधुनिक र जटिल प्रविधिबाट दिक्क भएर पुरानो र सरल प्रविधिमा फर्किरहेका छन्। जसरी डिभिडी, क्यासेट र टाइपराइटरको पुनरागमन भएको छ, त्यसैगरी तारवाला हेडफोन पनि 'रेट्रो-टेक' अभियानको हिस्सा बनेको छ।

५. डोङ्गलको समस्या कायमै : धेरैजसो नयाँ फोनमा ३.५ एमएमको हेडफोन ज्याक हुँदैन। तर यसको पनि समाधान निस्किएको छ। अहिले बजारमा सीधै यूएसबी वा लाइटनिङ पोर्टमा जोड्न मिल्ने तारवाला हेडफोन पाइन्छन्। यदि पुरानै हेडफोन चलाउने हो भने चार्जिङ पोर्टमा जोड्न मिल्ने एडप्टर, जसलाई ‘डोङ्गल’ भनिन्छ, प्रयोग गर्न सकिन्छ।

एप्पलले हेडफोन ज्याक हटाए पनि उसले अझै तारवाला इयरपडहरू बेच्न छाडेको छैन। एक एप्पल स्टोरका कर्मचारीका अनुसार पछिल्लो समय उनले पहिलेभन्दा धेरै तारवाला इयरबड बेचिरहेका छन्।

फागुन २८, २०८२ बिहीबार १४:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।