मत नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने ओलीको दाबी, नेतृत्व छाड्नेबारे मौन

मत नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने ओलीको दाबी, नेतृत्व छाड्नेबारे मौन

काठमाडौं : आफ्नो नेतृत्वमा रहेको पार्टीको शर्मनाक हारपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने बताएका छन्।

निर्वाचनको अन्तिम परिणाम आएपछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताउँदै कठिन समयमा पनि पार्टीमा मतदान गर्नेहरूप्रति धन्यवाद दिए।

उनले भनेका छन्, ‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।’

आफूहरू जनताकै बीचमा रहेन र पार्टीलाई अझ बलियो बनाएर लिएर जाने उको प्रतिबद्धता छ।

‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,’ उनले भने, हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ।’

पार्टीभित्र र बाहिर नेतृत्व परिवर्तनबारे बहस भइरहँदा उनले त्यसबारेमा भने केही पनि खुलाएका छैनन्। पार्टीमा संस्थापनइतरका नेताहरू अब पार्टीको नेतृत्व परिवर्तन गरेर जानुपर्ने पक्षमा छन्।

एक टेलिभिजन अन्तर्वार्तामा उमहासचिव योगेश भट्टराईले नेतृत्वले पार्टी नछाडे नराम्रट्ठो हुने चेतावनी समेत दिइसकेका छन्। अर्का नेता गोकुल बाँस्कोटाले पनि अहिलेकै नेतृत्व र सोचले पार्टी अघि बढ्ने हो भने अर्को निर्वाचनमा पार्टी सकिने धारणा राखे।

फागुन २८, २०८२ बिहीबार १०:३७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।