बाबुराम र रेनुलाई दिल्लीको निम्तो!

बाबुराम र रेनुलाई दिल्लीको निम्तो!

काठमाडौं : भारतको नयाँदिल्लीमा आज (मंगलबार) देखि सुरु हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२५’ मा नेपालका दुई चर्चित राजनीतिक व्यक्तित्वले सम्बोधन गर्ने भएका छन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई उक्त विश्वस्तरीय सम्मेलनमा विशिष्ट वक्ताका रूपमा आमन्त्रण गरिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहने यो सम्मेलन आजदेखि १४ मार्चसम्म नयाँदिल्लीस्थित भव्य ‘भारत मण्डपम’मा आयोजना हुँदैछ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सम्मेलनमा ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुन ११ मार्चमा भारत गएका छन्। उनले सम्मेलनको अन्तिम दिन, १४ मार्चमा ‘एआईको युगमा लोकतन्त्र : डिजिटल सुशासन र युवा’ शीर्षकको सत्रमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

यसैगरी, भरतपुर महानगरपालिकाकी दुई कार्यकाल सफल मेयर रहिसकेकी रेनु दाहाललाई पनि सम्मेलनमा ‘सम्मानित वक्ता’का रूपमा आमन्त्रण गरिएको छ। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय शर्माले दाहाललाई पठाएको निमन्त्रणापत्रमा उनको उपस्थितिले सम्मेलनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।

एनएक्सटी समिटलाई भारतले विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। सम्मेलनमा प्रधानमन्त्री मोदी प्रमुख अतिथि तथा अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन्।

यसबाहेक, भारतका रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका प्रभावशाली व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ।

सम्मेलनमा ३० भन्दा बढी देशका सांसद, हार्वर्ड, एमआईटी, अक्सफोर्ड, क्याम्ब्रिज जस्ता विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरूको व्यापक सहभागिता रहने आयोजकले जनाएको छ।

विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, र वातावरण जस्ता जल्दाबल्दा विषयमा केन्द्रित रहने यो सम्मेलनलाई वैश्विक बहसको महत्त्वपूर्ण मञ्च मानिएको छ। डा. भट्टराई सम्मेलन सकेर मार्च १४ मै स्वदेश फर्कने कार्यक्रम छ।

फागुन २८, २०८२ बिहीबार १०:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।