इजरायलस्थित नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन : परराष्ट्र मन्त्रालय
काठमाडौं : परराष्ट्र मन्त्री बालानन्द शर्माले इजरायलको कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारको सुरक्षाबारे विभिन्न टीकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको बताएका छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका अधिकांश कृषि क्षेत्रमा बङ्कर (सुरक्षा आश्रय) उपलब्ध रहेको दाबी गरे। आफू स्वयं त्यहाँ पुगेर बङ्करको अवस्था अवलोकन गरेको बताउँदै उनले यस विषयमा इजरायली पक्ष गम्भीर रहेको उल्लेख गरे।
"इजरायलको कृषि क्षेत्रमा काम गर्नेलाई बङ्कर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै ठाउँमा बङ्कर छन्। म आफैँ गएर देखेको छु र केही बङ्करमा बसेर पनि आएको छुl यस विषयमा इजरायलीहरू गम्भीर छन्," मन्त्री शर्माले भने।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्दै उनले आवश्यक परेको खण्डमा तत्काल उद्धार गर्न सरकार तयार रहेको बताए।
उनले भने, ‘हाम्रा नागरिक बाहिर अलपत्र परे भने ल्याउन सक्दिनँ भन्न पाइँदैन। करिब ३० लाख नेपाली पश्चिम एसियामा छन्, उनीहरूको सुरक्षाका लागि योजना बनाएर अघि बढ्नुपर्छ र राज्य निरन्तर सक्रिय रहनुपर्छ।’
यसैबीच, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एसियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिए।
तत्कालै उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था अहिलेसम्म नदेखिएको उनको भनाइ छ।
‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर तत्काल उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन’, सचिव राईले भने।
मन्त्रालयले पश्चिम एसियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग दैनिक बिहान र बेलुका सम्पर्क गरिरहेको पनि उनले बताए।
साथै, सरकारद्वारा गठित ‘इमर्जेन्सी रेस्पोन्स टिम’को बैठकका निर्णयहरू नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनले जानकारी दिए।
सचिव राईले नेपालमा रहेका परिवारजन र पश्चिम एसियामा रहेका नेपालीलाई अनावश्यक रूपमा विचलित वा चिन्तित नहुन आग्रह गरे।
सरकारले नागरिकको उद्धार गर्न सक्दैन कि भन्ने आशङ्का निराधार रहेको बताउँदै उनले आवश्यक परेको खण्डमा जुनसुकै हालतमा पनि नेपाली नागरिकको सुरक्षित उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको दाबी गरे।
फागुन २७, २०८२ बुधबार २१:३१:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।