३२ देशले ४० करोड ब्यारेल तेल बजारमा पठाउने, आईईएको इतिहासमै ठूलो घोषणा
एजेन्सी : अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले आफ्ना ३२ सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारबाट ४० करोड ब्यारेल कच्चा तेल बजारमा पठाउने घोषणा गरेको छ।
यो एजेन्सीको इतिहासमै हालसम्मकै सबैभन्दा ठूलो परिणामको तेल निकासा हो।
आईईएका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार, युद्धका कारण विश्वको तेल बजारमा देखिएको आपूर्तिको समस्या समाधान गर्न यो महत्त्वपूर्ण कदम चालिएको हो।
एजेन्सीका अनुसार, फेब्रुअरी २८ बाट सुरु भएको युद्धपछि ‘स्ट्रेट अफ होर्मुज’हुँदै हुने तेल आपूर्ति गम्भीर रूपमा प्रभावित भएको छ।
यस मार्गबाट हुने कच्चा तेल र पेट्रोलियम पदार्थको निर्यात युद्ध सुरु हुनुअघिको तुलनामा अहिले १० प्रतिशतभन्दा तल झरेको छ।
आपत्कालीन भण्डारमा रहेको यो तेललाई सदस्य राष्ट्रहरूको परिस्थितिअनुसार चरणबद्ध रूपमा बजारमा ल्याइने आईईएले जनाएको छ।
इतिहासमा छैटौं पटक यस्तो कदम
सन् १९७४ मा स्थापना भएको आईईएको इतिहासमा सदस्य राष्ट्रहरूले मिलेर रणनीतिक भण्डारबाट यसरी ठूलो मात्रामा तेल निकाल्न लागेको यो जम्मा छैटौं पटक हो।
यसअघि सन् १९९१ को खाडी युद्ध, सन् २००५ को समुद्री आँधी, सन् २०११ को लिबिया युद्ध र सन् २०२२ को रुस-युक्रेन युद्धमा आपत्कालीन भण्डारको तेल निकालिएको थियो।
आईईएका ३२ सदस्य राष्ट्रहरूमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, क्यानडा र दक्षिण कोरिया जस्ता प्रमुख विकसित देशहरू समावेश छन्।
छिमेकी राष्ट्र भारत भने यस एजेन्सीको पूर्ण सदस्य होइन, तर सन् २०१७ देखि सहयोगी देशका रूपमा आबद्ध छ।
फागुन २७, २०८२ बुधबार २१:०५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।