रवि लामिछानेको चुनावी खर्च झण्डै १० लाख, कुन शीर्षकमा कति खर्चिए ?

रवि लामिछानेको चुनावी खर्च झण्डै १० लाख, कुन शीर्षकमा कति खर्चिए ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक छन्। चितवन- २ बाट निर्वाचित लामिछानेले मंगलबार आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका थिए।

उनको तर्फबाट प्रतिनिधि सीता ज्ञवालीले पेस गरेको उक्त विवरणमा विभिन्न १० वटा शीर्षकमा खर्च गरिएको देखाइएको छ। विवरणमा उल्लेख भएअनुसार सबैभन्दा बढी खर्च यातायात तथा इन्धन शीर्षकमा भएको छ। २ वटा सवारी साधन १५ दिनसम्म प्रयोग गर्दा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ। 

त्यसैगरी, निर्वाचनका क्रममा भएका गोष्ठी तथा कार्यकर्ता भेलाका लागि १ लाख ८० हजार रुपैयाँ र खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ खर्च भएको देखिन्छ। प्रचारप्रसारका लागि आवश्यक सामग्रीहरू झण्डा र ब्याच खरिदमा १ लाख १२ हजार तथा ब्यानर र स्टीकर खरिदमा ५५ हजार रुपैयाँ खर्च भएको छ। निर्वाचनकै दौरान २८ वटा वडामा गरिएको वडास्तरीय प्रचारप्रसारका लागि ४६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

अन्य शीर्षकहरूमा नमुना मतपत्र र सामग्री छपाईका लागि ६८ हजार, मतदाता प्रशिक्षणका क्रममा खाजामा १४ हजार र तीन पटकको हवाई खर्च बापत १३ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।

फागुन २७, २०८२ बुधबार १०:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।