शुक्लाफाँटामा जंगली जनावर प्रभावित क्षेत्रमा तारजाली लगाइँदै
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ।
जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो।
नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा दुई हजार ५०० मिटर र वडा नं १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्रबाट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो। गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान ७५ लाख र नगरपालिकाको ७५ लाख खर्चेर नगरपालिकाको वडा नं ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो।
मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न नगरपालिकाले ३५ लाखको लागतमा ३० स्थानमा सौर्यबत्ती जडान थालेको छ।
फागुन २७, २०८२ बुधबार १०:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।