वायु प्रदूषण बढ्दो, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न आग्रह
काठमाडौं : वायु प्रदूषण बढ्दै गएपछि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। विभागले आज जारी गरेको अपिलमा प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, फोहोर तथा बालीनालीका अवशेष नजलाउन र यस्ता गतिविधि रोक्न सबैले पहल गर्न पनि विभागले अपिल गरेको छ।
विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न अनुरोध गरेका छन्।
वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए।
हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ। विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ।
विभागका अनुसार प्रदूषण बिहान–बेलुकाकाे समयमा उच्च हुने गरेको छ। चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ।
फागुन २६, २०८२ मंगलबार १४:३५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।