राजेश र रेखाको चुनावलक्षित अभिव्यक्तिमा आस्था राउतको टिप्पणी, उठाइन् राजेश हमालको बौद्धिकतामाथि प्रश्न
काठमाडौं : हक्की स्वभावकी गायिका आस्था राउत राजेश हमाल र अभिनेत्री रेखा थापाका बारेमा दिएका पछिल्लो अभिव्यक्तिका कारण चर्चामा छन्।
निर्वाचनको पूर्वसन्ध्यामा पुराना दलहरूको बचाउ र नयाँ दलप्रति अविश्वास जगाउने गरी आएका अभिव्यक्तिप्रति राउतले कटाक्ष गरिन्।
प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन हमालले नयाँ दलहरूलाई ‘नयाँ भनौदा’ भन्दै पुराना दलहरूकै समर्थनमा भिडियो सार्वजनिक गरेका थिए। यही शब्द चयनप्रति आपत्ति जनाउँदै राउतले हमालजस्तो बौद्धिक व्यक्तित्वबाट यस्तो भाषा प्रयोग हुनु अपेक्षित नभएको बताइन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “महानायक ज्यूको सो कल्ड ‘नयाँ भनौदाहरु’ले त सुनामी नै ल्याई दिए त नेपालमा। उहाँ जत्तिको बौद्धिक व्यक्तिले इलेक्सनको एक दिन अगाडी त्यस्तो भाषा मैले चाहिँ एस्पेक्ट गरेको थिइन।”
उनको उक्त टिप्पणीपछि सामाजिक सञ्जालमा धेरैले उनलाई समर्थन गरे। उनको याे पोस्टमा ३१ सय भन्दा बढिले लाइक गरे भने झन्डै तीन सयले कमेन्ट गरे।
उनले फेरी स्पष्ट पार्दै हमालको अन्य कुरामा आफ्नो असहमति नभएको तर ‘नयाँ भनौदा’ भन्ने शब्द प्रयोगप्रति मात्र आपत्ति रहेको बताइन्। उनले ‘नयाँ भनौदा’ भन्नु र ‘नयाँ अनुहार’ वा ‘नयाँ दल’ भन्नुबिच ठूलो अर्थगत फरक हुने तर्क गरिन्। उनले यसलाई ‘तेरो बाउ’ र ‘तपाईंको बुवा’ भन्ने सम्बोधनबीचको भिन्नतासँग तुलना गर्दै राजेश हमालको भाषाप्रति असन्तुष्टि पोखिन्।
“जसरी ‘तेरो बाउ’ भन्नु र ‘तपाईंको बुवा’ भन्नुमा फरक पर्छ, त्यसैगरी शब्द चयनले अर्थ बदल्छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
यस्तै, अभिनेत्री तथा निर्मात्री रेखा थापाले एक युट्युब अन्तर्वार्तामा नयाँ रोगभन्दा पुरानै रोगलाई ठिक बनाउनुपर्छ भन्दै पुराना पार्टीहरूको सुधारमा जोड दिएपछि व्यापक आलोचना भइरहेको छ। उनले नयाँ पार्टी के कहाँ कसरी आएका हुन् भन्ने बारे थाहा नभएकोले पुराना पार्टीको भ्रष्टाचार,कुशासन तथा अन्य कुरामा सुधार गर्दै लैजानुपर्ने आशयको विचार व्यक्त गरिन्। जसका कारण उनले धेरै नै आलोचना खेप्नुपर्याे।
दुई साताअघि थापाको यहि अभिव्यक्तिलाई इंकित गर्दै आस्थाले सामाजिक सञ्जालमा अर्को पोस्ट राखिन्। उनले नाम नलिई अप्रत्यक्ष रूपमा रेखा थापाको राजनीतिक अस्थिरतामाथि पनि टिप्पणी गरिन्। उनकाे यस पोस्टमा अधिकांशले रेखालाई नै लक्षित गरेकाे भन्दै मेन्सन समेत गरे।
"तपाई हिजो नाच्दै, पार्टी चाहार्दै, २/३ पार्टी डुल्दै हिँड्दै हार्दा पनि हामीले केही भनेनौँ त ! अहिले अरूको डाहा गरेर हुँदैन के ! जसको भागमा जे जति लेखेको छ त्यही हुने हो । अनि नि, "जूनको बाटो जून हिँड्ने हो, घामको बाटो घाम !"
राजेश र रेखाले पुराना दलको पक्षमा अभिव्यक्ति दिँदा सामाजिक सञ्जालमा आलोचना खेपिरहेका छन्।
फागुन २६, २०८२ मंगलबार १५:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।