काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, विश्वकै तेस्रो प्रदूषित शहर बन्यो

काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, विश्वकै तेस्रो प्रदूषित शहर बन्यो

काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण आज बिहान धेरै अस्वस्थकरको स्तरमा पुगेको छ।

विश्वका प्रमुख शहरहरूको वायु गुणस्तरको प्रत्यक्ष निगरानी गर्ने स्वीट्जरल्यान्डको आईक्यू एयरका अनुसार काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहर बनेको छ।

विहान साढे ९ बजे काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) २०६ मापन गरिएको छ, जसलाई धेरै अस्वस्थकरमानिन्छ।

आईक्यू एयरको सूचीअनुसार, भारतको नयाँ दिल्ली २५० एक्यूआईसहित पहिलो र बंगलादेशको ढाका २०९ एक्यूआईसहित दोस्रो स्थानमा छन्। त्यसपछि काठमाडौं तेस्रो स्थानमा रहेको हो।

नेपाल सरकारले तोकेको मापदण्डअनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘धेरै अस्वस्थकर’ तह मानिन्छ। यो तहको प्रदूषणले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने विज्ञहरू बताउँछन्।

१५० एक्यूआई नाघ्नुलाई नै अस्वस्थकर मानिनेमा काठमाडौंको वायु प्रदूषणको स्तर त्योभन्दा निकै माथि पुगेको हो।

वायु प्रदूषणको स्तर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक सूचना जारी गर्दै प्रदूषणबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरेका हुन्।

उनका अनुसार वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा र मिर्गौला जस्ता अंगमा गम्भीर समस्या निम्त्याउन सक्छ।

मन्त्रालयले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन सुझाव दिएको छ।

घरबाहिर निस्कनै परे गुणस्तरीय मास्क (एन-९५) को प्रयोग गर्न, बिहानीपखको हिँडडुल तथा शारीरिक व्यायाम नगर्न र घरभित्रका झ्यालढोका बन्द राख्न पनि मन्त्रालयले आग्रह गरेको छ।

फागुन २६, २०८२ मंगलबार ०९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।