चुनाव हारेपछि उपचार सुविधा बन्द गरेको हल्ला निराधार : डा. सुनिल शर्मा
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि आफ्नो क्षेत्रका नागरिकलाई दिँदै आएको स्वास्थ्य उपचार सुविधा बन्द गरेको भनी फैलाइएको हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीसँग पराजित भएपछि डा. शर्माले आफ्ना अस्पतालमार्फत विपन्न समुदायलाई प्रदान गरिरहेको निःशुल्क तथा छुटको उपचार सेवा हटाएको भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो। उक्त प्रचारलाई खण्डन गर्दै उनले आफ्नो फेसबुक पेजमार्फत एक सूचना जारी गरेका हुन्।
उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘हाल बजारमा विभिन्न किसिमका हल्ला तथा भ्रम फैलिएको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध हुँदैन, न त कहिल्यै थियो।’
डा. शर्माले आफ्ना संस्थाहरूले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका नागरिकहरूलाई प्राथमिकतामा राखेर छुटदेखि निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको र यो क्रम आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट पारेका छन्।
‘समाज र राष्ट्रप्रतिको हाम्रो दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू हामीले आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी राख्नेछौँ’, उनले लेखेका छन्।
उनले यस्ता सेवाहरू सम्बन्धित वडा तथा जिल्लाहरूमा तोकिएको प्रक्रिया र आधिकारिक माध्यममार्फत उपलब्ध गराइरहेको जानकारी दिँदै बजारमा फैलाइएका भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
डा. शर्माले आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थाका प्रतिनिधिहरूसँग सम्पर्क गरी संस्थाको नियमअनुसार सुविधा लिन सबैलाई अनुरोधसमेत गरेका छन्।
नोबेल शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेजले मोरङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा आर्थिक रूपमा विपन्न बिरामीलाई निःशुल्क उपचार गर्दै आएका छन्।
निर्वाचनको परिणामलाई जोडेर सामाजिक सेवाको काम रोकेको भन्दै गरिएको प्रचार नियोजित र भ्रामक रहेको उनको भनाइ छ।
फागुन २६, २०८२ मंगलबार ०९:३७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।