जिमी नीशमले पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट हटाए

जिमी नीशमले पोखरा एभेन्जर्सको पोस्टमा गरेको कमेन्ट हटाए

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली ‘पोखरा एभेन्जर्स’ले पारिश्रमिक नदिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन्।

आइतबार सम्पन्न आईसीसी टी-२० विश्वकपको फाइनलमा भारतसँग पराजित भएपछि नीशमले पोखरा एभेन्जर्सको इन्स्टाग्राम पोस्टमा ‘खेलाडीको पारिश्रमिक देऊ’ भन्दै कमेन्ट गरेका थिए। उनको यो भनाइले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय क्रिकेट वृत्तसम्म चर्चा पाएको थियो।

यद्यपि, पोखरा एभेन्जर्स व्यवस्थापनले भने नीशमको पारिश्रमिकको केही हिस्सा मात्र दिन बाँकी रहेको र त्यो पनि अर्को सातासम्म उपलब्ध गराउने सहमति भइसकेको जनाएको थियो। व्यवस्थापनसँग सहमति भइसकेको अवस्थामा पनि नीशमले सार्वजनिक रूपमा त्यस्तो कमेन्ट लेखेका थिए।

तर, सोमबार राति नीशमले आफूले लेखेको उक्त कमेन्ट हटाएका छन्। विश्वकपको फाइनल हारेको आवेग वा पीडामा उनले उक्त कमेन्ट गरेको हुनसक्ने अनुमान गरिएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत विश्वका चर्चित फ्रेन्चाइज लिगहरू खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडीले पारिश्रमिकको विषयलाई लिएर सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदा पोखरा एभेन्जर्स मात्र नभई समग्र ‘नेपाल प्रिमियर लिग’ र नेपाली क्रिकेटको व्यवस्थापनमाथि नै प्रश्न उठेको थियो।

तर, २४ घण्टा पनि नबित्दै उनले उक्त कमेन्ट हटाएपछि अहिले नीशममाथि नै 'किन कमेन्ट लेखियो र किन हटाइयो ?' भन्ने प्रश्न उब्जिएको छ।

फागुन २६, २०८२ मंगलबार ०९:१६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।