रवि लामिछाने र बालेन शाहलाई प्रधानमन्त्री मोदीको फोन: भारतको सहकार्य र प्रगतिको चाहना
काठमाडौं : नेपालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हासिल गरेको सफलतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन'सँग टेलिफोन संवाद गरेका छन्।
प्रधानमन्त्री मोदीले आज बिहान दुवै नेतासँग 'हार्दिक टेलिफोन वार्ता' गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। उक्त संवादमा मोदीले रास्वपाले निर्वाचनमा प्राप्त गरेको 'शानदार सफलता' र दुवै नेताको व्यक्तिगत जितका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
'सहकार्य र समृद्धिको नयाँ उचाइ'
टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले नेपालमा गठन हुन लागेको नयाँ सरकारका लागि अग्रिम शुभकामना दिँदै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
"नयाँ सरकारका लागि मेरो शुभकामना छ। भारत र नेपालको पारस्परिक समृद्धि, प्रगति र जनहितका लागि हामी सँगै मिलेर काम गर्न प्रतिबद्ध छौं," मोदीले आफ्नो सन्देशमा भनेका छन्।
उनले भारत र नेपालबीचको सदियौं पुरानो सम्बन्धलाई दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा 'नयाँ उचाइ' मा पुर्याउन आफू विश्वस्त रहेको पनि बताएका छन्।
रास्वपाको विजयले भारतको चासो
नेपालको निर्वाचनमा रास्वपाले लगभग दुई तिहाइ मतसहित ठूलो शक्ति बनेर उदाउँदै गर्दा भारतले यसलाई निकै महत्त्वका साथ हेरेको छ।
परम्परागत राजनीतिक शक्तिहरूलाई पछि पार्दै रास्वपाले प्राप्त गरेको यो विजयले नेपालको राजनीतिमा नयाँ मोड आएको विश्लेषण भइरहेका बेला भारतीय प्रधानमन्त्रीको यो टेलिफोन वार्ताले कूटनीतिक वृत्तमा विशेष अर्थ राखेको छ।
खासगरी, प्रधानमन्त्री मोदीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग छुट्टै र विशेष संवाद गर्नुलाई नेपालको आगामी राजनीतिमा बालेनको बढ्दो प्रभाव र भारतीय चासोको रूपमा हेरिएको छ।
फागुन २५, २०८२ सोमबार २१:४०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।